काठमाडाैँ । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको एक सांसदले बताए ।

छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । तर संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ ।
यसबाहेक कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव लैजाने छलफल समेत भइरहेकाले सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको अनुमान समेत गरिएको छ ।

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।