काठमाण्डाैँ । उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले तयारी गरेका छन् । तर, सत्तारुढ दलसँग उपसभामुखलाई हटाउन आवश्यक मत नपुग्ने देखिन्छ । सांसद संख्या २ सय ७५ रहेकोमा रुपन्देही– ३ का सांसद दीपक बोहराको निधनपछि सो स्थान रिक्त छ । यसले गर्दा तत्काल कायम सदस्य संख्या २७४ हुन्छ ।

‘संविधानको धारा ९१ को उपधारा ७ बमोजिम निजले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा,’ भनिएको छ । तर, हाल नेपाली कांग्रेससँग ८८ मध्ये एक सांसद मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् । उनीसँग संवैधानिक अधिकार नरहे पनि गणना भने गर्नुपर्नेछ । त्यस्तै, एमालेका ७९ सांसदमध्ये टोपबहादुर रायमाझी निलम्बनमा छन् । सभामुख देवराज घिमिरे मतदान प्रक्रियामा सहभागी हुन पाउँदैनन् । तसर्थ, एमालेमा हाल ७७ सांसद मात्र उपलब्ध हुनेछन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का ७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ गरी जम्मा १ सय ७५ सांसद हुँदा अपुग संसद संख्या ८ छ । तर, नेकपा एससँग सहयोग मागे तत्काल उक्त संख्या पुग्ने देखिन्छ । किनकि, हाल एससँग ९ सांसद मात्रै छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा परेपछि उनको सांसद पद निलम्बनमा छ । ‘हामीलाई सत्तारुढ दलबाट अहिलेसम्म औपचारिक प्रस्ताव आएको छैन । आएपछि आन्तरिक छलफलपछि निर्णय लिन्छौँ,’ एकीकृत समाजवादीका प्रवक्ता प्रकाश ज्वालाले शिलापत्रसँग भने ।

योबाहेक अमरेशकुमार सिंह र प्रभु साहले साथ दिँदा पनि थप ६ सांसद आवश्यक पर्ने देखिन्छ । भर्खरै सरकारलाई दिएको समर्थन फिर्ता गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई फकाउँदा पनि अझै २ सांसद नपुग्ने देखिन्छ । किनकि, नाउपासँग ४ सांसद मात्रै छन् ।

अब सत्तारुढ दलहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई फकाएर उसका ५ सांसदको समर्थन लिने सम्भावना छ । तर, यादवमाथि १८ वर्षपछि गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउने गरी सर्वोच्चले गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको प्रकरणले सरकारसँग यादवको सम्बन्ध चिसिएको छ ।

योबाहेक हाल सत्तारुढ दलसँग टाढा देखिएका सीके राउत नेतृत्वको जनमतलाई विश्वासमा लिएर ६ सांसदको समर्थन लिने सम्भावना पनि उत्तिकै छ । यसो गर्दा पनि बहुमत पुग्न सक्छ ।

यदि साना दल र स्वतन्त्र सांसदको समर्थन नचाहिने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ लिएर १३ सांसदको विश्वास लिने हो भने सरकारलाई सहज त हुन्छ तर रास्वापासँगै आन्दोलनमा रहेको राप्रपाले त्यति सजिलै आफ्नो कित्ता छाड्ने देखिँदैन । त्यसैले रास्वपा सांसदसमेत रहेकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउन कांग्रेस–एमालेले कस्तो रणनीतिक चाल्छन्, त्यो भने चासोको विषय बनेकाे छ ।