काठमाडौँ । नेकपा एमालेले काठमाडौँ उपत्यका बाहिर रहेका आफ्ना सांसदहरूलाई बुधबार बेलुकासम्म काठमाडौँ फर्किन निर्देशन दिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निर्देशनमा संसदीय दलबाट बाहिर रहेका सांसदहरूलाई बुधबारसम्म काठमाडौँ फर्किन भनिएको एक सांसदले बताए ।

‘बुधबारसम्म काठमाडौँ आइसक्न भनिएको छ, त्यसैले म पनि फर्कदैछु’, काठमाडौँ बाहिर रहेका एक सांसदले भने, ‘राती १२ बजेसम्म आइपुग्छु भनेको छु ।’

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी अनुसार एमालेले आफ्ना सांसदलाई काठमाडौँ बोलाएको बुझिएको छ ।

मंगलबार मात्र कांग्रेस एमालेले खाली कागजमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । उपसभामुख रानामगरले पदीय आचरण विपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै हटाउन लागिएको बताइएको छ ।