सिन्धुपाल्चोक । बासी खाना खुवाएको भन्दै भान्सेलाई निर्घात कुटपिटपछि प्रहरी सेवाबाटै बरखास्तमा परेका जिल्ला प्रहरी कार्यालयमा कार्यरत भान्से शंकर कार्कीलाई प्रहरी सेवामा पुनर्बहाली गर्ने सिन्धुपाल्चोक प्रहरी प्रमुखले आश्वासन दिएका छन् ।

भान्से कार्की र उनको परिवारलाई बोलाएर एक हप्ता भित्र प्रहरी सेवामा पुनर्बहाली गरिदिने आश्वासन दिएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी भान्से कार्कीको भाउजू खिलकुमारी कार्कीसहितका परिवारसँग जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले छलफल गरेका थिए । ‘दुवै पक्षबाट गल्ती भएको र अब एक हप्ता भित्र सेवामा पुनर्बहाली गरिदिन्छौँ भनेर एसपी साबले भन्नु भएको छ’ कार्कीले भनिन्, ‘पहिला पनि तपाईँ आएर सिधै मलाई भेटेर भनेको भए हुने, पत्रकारहरूसम्म नपुगेको भए पनि हुन्थ्यो, अब जे हुनु भयो माथिबाट कागजपत्र आउन समय लाग्छ, आउन साथ हामी बोलाउँछौ ।’

घरमा बस्दा अल्छी लागे यतै आएर बस्दा पनि हुन्छ भनेर एसपी कार्कीले आफूहरूलाई भनेको नगर सदस्य समेत रहेकी कार्कीले बताइन् । प्रहरी सेवाबाट बर्खास्तीमा परेका शंकर कार्कीले पनि आफूहरूलाई बोलाएर पुनर्बहाली गरिदिने आश्वासन दिएको बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने यो विषयमा डीआइजी साबलाई कुरा गर्नु भन्दै जवाफ दिन चाहेनन् । जागिरबाट बर्खास्तीमा परेपछि भान्से शंकर कार्कीले केही दिनअघि बागमती प्रदेश कार्यालयमा पुनरावेदन दिएका थिए ।

सिन्धुपाल्चोक प्रहरी कार्यालयका डीएसपी माधवराज खरेल र प्रहरी निरीक्षक रुपेश शाहलाई निर्घात कुटपिट गरी भान्से शंकर कार्कीलाई सेवाबाटै बखास्त गरिदिएका थिए । सुरुमा बासी भात खुवाएको डीएसपी खरेलले उनकै क्वाटरमा कुटपिट गरेका थिए भने प्रहरी निरीक्षक रुपेश शाहले हतगडी लगाएर प्रहरीको नियम थाहा रहेनछ भन्दै निर्घात कुटपिट गरेका थिए ।