काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डमा निष्पक्ष भए छानबिन हुनुपर्ने तथा संलग्न सबैलाई कारबाही गरिनुपर्ने अन्यथा पूर्वाग्राही र एकपक्षीय भए प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सर्वोच्चले उक्त हत्या काण्डमा जसपा नेपालका उपेन्द्र यादवमाथि अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि बुधबार साँझ बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको प्रगतीशील पार्टीको अध्यक्ष हृदयेश त्रिपाठीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘परमादेशको पूर्ण पाठ प्राप्त भइनसकेको भए पनि यदि भनिए जस्तो छानबिन वा अनुसन्धान सफा नियत, तटस्थता, कानूनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबीन र अनुसन्धानप्रति कसैको आपत्ति हुने कुरै भएन’, विज्ञप्तिमा भनिएको छ, ‘तर, जसरी एकपक्षीय र पूर्वाग्रहले प्रेरित भई एक पक्षीय रूपमा तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार चलाउने खेलहरु भइरहेका छन् त्यसले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्टसंग छर्लङ्ग भएको छ ।’

मोर्चाले व्यक्ति केन्द्रित र प्रतिशोधको मानसिकता प्रेरित भइ तथ्य तोडमोड गरिएको आरोपसमेत लगाएको छ ।

सर्वाेच्च अदालतले २०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २७ माओवादी कार्यकर्ता मारिएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन २ दिनअघि परमादेश दिएकाे छ ।

तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका हाल जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान माग गर्दै दायर रिटमा आदेश दिइएकाे हाे । प्रभु साहसमेतले गौर हत्याकाण्ड उपेन्द्र यादवले गराएको आरोप लगाउँदै आएका छन् ।

उपेन्द्रमाथि अनुसन्धान बढ्ने भएपछि मधेशवादी दल सम्मिलित माेर्चा डिफेन्समा उत्रिएकाे हाे ।