काठमाडौँ। भारतले चीनसँग भएको लिपुलेक सम्झौता बारेको टिप्पणीमा आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले  पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै भारत–चीनबिचको लिपुलेक हुँदै हुने व्यापार दशकौँदेखि चलिआएको बताउँदै नेपालको दाबीलाई खारेज गरेका छन्।

उनले भने, ‘लिपुलेक पासमार्फत भारत–चीनबिचको व्यापार सन् १९५४ देखि निरन्तर हुँदै आएको हो। पछिल्ला वर्षहरूमा कोभिड र अन्य कारणले अवरुद्ध भएको यो व्यापार फेरि सुरु गर्ने दुवै पक्ष सहमत भएका छन्।’

नेपालले यसबारे दिएको टिप्पणीलाई लिएर प्रवक्ता जैसवालले भने, ‘सीमासम्बन्धी नेपालकाे दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। यस्ता एकपक्षीय र कृत्रिम दाबीहरू अस्वीकार्य छन्।’
भारतले सीमा सम्बन्धी बाँकी रहेका विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक बाटोमार्फत निर्माणात्मक छलफल गर्न तयार रहेको समेत स्पष्ट पारेको छ।