काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ।

निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलनमा उत्रिएको बेला आज समितिको बैठक बस्न लागेको ।

दुवै संस्थाले ५ बुँदे माग अघि सार्दै ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने, पोसाक तथा स्टेशनरी उपलब्ध गराउनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गरेका छन्।

आज बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्‍याली गर्ने र कोणसभा गर्ने, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने तथा  काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्‍याली गर्ने तय भएको छ ।

माग सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्।

यता शिक्षक महासंघले पनि  विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गर्न लागिएको कतिपय प्रावधानमा असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । यस्तो अवस्थामा आज बस्न लागेको शिक्षा समितिको बैठकलाई चासोपूर्वक हेरिएको छ ।