काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनै कारणले बन्द गर्न नपाउने प्रावधान विधेयकमा राख्न माग गरेकी छन् । बिहीबार (भदौ ५) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलक्रममा उनले विद्यालय, विश्वविद्यालयमा कसैले पनि तालाबन्दी, बन्द गर्न नपाइने विषय विधेयकमै लेखिनुपर्नेमा जोड दिइन् । शिक्षकको हकमा बन्द, हडताल गर्न नपाइने विधेयकमा उल्लेख छ । यो प्रावधान निजी विद्यालयका निम्ति पनि राखिनुपर्ने उनले बताइन् ।

“विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस् । विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन । विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन, जुनसुकै कारण भए पनि,” उनले भनिन्, “त्यो हामीले शिक्षकहरूको हकमा बन्द, हडताल गर्न पाउँदैन भनेर लेखेका छौँ । तर, हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ । विद्यालयहरू कुनै पनि बहानामा बन्द गरिनु हुँदैन ।”

सांसद श्रेष्ठले अनिवार्य निःशुल्क शिक्षा तोकिएबमोजिम सबैले पाउनुपर्ने बताइन् ।