काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रूपमा लेखिनुपर्ने बताएकी छन् । बिहीबार (भदौ ५) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलक्रममा उनले प्रधानाध्यापकको विषय प्रदेशमा राखेर छनोट गर्ने प्रावधान राम्रो भएको उल्लेख गरिन् । सबैभन्दा माथिल्लो तहका सरकारी कर्मचारीले पाउनेसरहको सुविधा प्रधानाध्यापकलाई दिइने भनेर विधेयकमा उल्लेख गरिनुपर्नेमा उनले जोड दिइन् ।

शिक्षा समिति बैठकमा सांसद रेखा शर्माको भनाइ पढ्नोस्–
प्रधानाध्यापकको जुन विषय छ, यसलाई प्रदेशको डालोमा हामीले हाल्यौँ । प्रदेशबाट छनोट गर्ने, शिक्षक सेवा आयोगले परीक्षा लिएर शिक्षकहरूको उमेदवारको सूची तयार गर्ने, स्थानीय तहले वितरण गर्ने भन्ने कुरा ठिक छ । हुँदाहुँदै पनि प्रधानाध्यापकको थप सेवा सुविधा उल्लेख गर्न सकेनौँ । यसमा हामीले तोकेबमोजिम हुनेछ त भन्यौँ, तर तोकेबमोजिम हुनेछ भन्दा ३००, ५०० रुपैयाँ दिएर प्रधानाध्यापकलाई जसरी ब्युटिफुल बनाउन खोज्दै छौँ, त्यो उद्देश्य हाम्रो पूर्ति हुँदैन । यति पैसा भनेर त विधेयकमा नलेखिएला, तर पनि यो खालको सुविधा दिइनेछ भनेर लेख्न सकिन्छ । प्रधानाध्यापकमा रहुन्जेल नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरूको सबैभन्दा माथिल्लो तह कुन हो – त्यो तहको सेवा सुविधा दिइनेछ भन्ने विषय भए पनि कतै उल्लेख गर्नुपर्छ ।