काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पुगेका छन्।

जननेता मदन भण्डरीको हीरक जयन्ती मनाउन भनेर खोलिएको थापागाउँस्थित यस कार्यालयबाटै एमालेकी पूर्वउपाध्य विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने भएकी छन् । बिहीबार दिउँसो उक्त कार्यालयको औपचारिक उद्‌घाटन गरिएको छ । भण्डारी र एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले कार्यालय उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

विद्याकै पहलमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन गरिएको छ । जसको अध्यक्ष बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् ।

२०४८ सालमा मदन र २०५१ मा विद्याले नै चुनाव प्रचार प्रसार गर्न उक्त घरमा कार्यालय खोलेका थिए । अहिले विद्याले त्यही घरमा आफ्नो सम्पर्क कार्यालय उद्‌घाटन गरेकी  हुन् । एमालेको साउन ५-६ को केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो । तर उनले आफ्नो  राजनीतिक यात्रा नरोकिने अडानसहित कार्यकर्ताहरूसँग सम्पर्क व्यापक बनाउन कार्यालय खोलेकी हुन् ।