काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टीका सभापति रवि लामिछानेको नैतिकता र राजनीतिक आचरणमाथि प्रश्न उठाएका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई पार्टीको प्रमुख बनाएर रास्वपाले नैतिकताको खिल्ली उडाएको आरोप लगाए। भट्टराईले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन भएको स्मरण गराउँदै पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत दोहोरो भूमिका निभाएको उल्लेख गरे।

‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालजी भएकै बेलामा संसदीय छानबिन समिति बनेको हो। स्वयम् गृहमन्त्री रवि लामिछाने समिति बनाउन तयार हुनुभयो।’ उनले दाहाल प्रति लक्षित गर्दै थपे, ‘प्रचण्डजीले त्यतिखेरै सिस्नुपानी हान्नुभयो रवि लामिछानेलाई, अहिले प्रचण्डजी आफैं मालिस लाउँदै हुनुहुन्छ। यो डबल स्ट्यान्डर्ड हो।’

उनले संसदीय छानबिन समितिको प्रतिवेदनले लामिछानेलाई अभियुक्त भनेर किटान गरेको दाबी गर्दै प्रश्न गरे, ‘अभियुक्तलाई पार्टीको शिरमा राखेर, पार्टीको प्रमुखमा राखेर त्यो पार्टी चल्छ भने त्यसले नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्ने हो।’

नेता भट्टराईले संसद बैठक बहिष्कार गर्ने तर संसदीय समितिमा भने भाग लिने रास्वपाको शैलीको पनि चर्को आलोचना गरे। उनले रास्वपाको संसदीय प्रणालीप्रतिको प्रतिबद्धतामाथि शंका व्यक्त गरे। ‘तपाईंको संसदप्रति विश्वास छैन, संसदीय व्यवस्थाप्रति विश्वास छैन, संविधानप्रति विश्वास छैन भने तपाईंको कमिटमेन्टप्रति गम्भीर प्रश्न उठ्छ,’ उनले भने। उनले राप्रपाले खुलेरै व्यवस्था बदल्नुपर्छ भनेको तर रास्वपाको नियत के हो भनी प्रश्न गरे।

‘संसदमा नआउने, संसदीय गतिविधिमा भाग नलिने, तर संसदका समितिमा भाग लिने ? कुलिंग पिरियड सम्बन्धी छानबिन समितिमा बस्ने ? के मा बस्ने, के मा नबस्ने ? कुन संसदको कारबाहीमा भाग लिने, कुनमा नलिने ? यो स्पष्ट हुनुपर्‍यो,’ भट्टराईले भने।

नयाँ र वैकल्पिक शक्तिको दाबी गर्ने रास्वपाको नारा ‘जान्नेलाई छान्ने’ माथि पनि भट्टराईले प्रहार गरे। उनले रास्वपाले कस्ता मान्छेलाई छानिरहेको छ भन्दै प्रश्न गरे। ‘मानव बेचबिखनमा संलग्न, सहकारी ठगीमा संलग्न, भिजिट भिसाको ठगीमा संलग्न, आर्थिक अपचलनमा संलग्न, बहुविवाहमा संलग्न, अनैतिक काममा संलग्न जति सबै जान्नेलाई छान्नेहरू ?’  उनले भने, ‘यही भइराखेको छ।’

उनले रास्वपाको गतिविधिलाई पपुलिजम (लोकरिझ्याइँ) को संज्ञा दिँदै यसले देशलाई अराजकता र विघटनतर्फ लैजाने चेतावनी दिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीको उदाहरण दिँदै उनले भने, ‘नेपाललाई अर्को जेलेन्स्की चाहिएको छैन। पपुलिजमले यहीँ पुर्‍याउँछ।