
काठमाण्डाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब गुट गर्नेलाई छुट दिन नसकिने चेतावनी दिएका छन्।
पार्टीभित्र भइरहेको गुटबन्दीतर्फ संकेत गर्दै उनले आफ्नै खुट्टामा बञ्चरो नहान्न पनि नेताहरूलाई निर्देशन दिएका छन्।
‘हाम्रा सबै नेता साथीहरूलाई पनि निर्देशन हो यो। तपाईंहरूले यो अहंकार कसैले पनि नठान्नुहोला। अनि गुटको पछि लागेर आफ्नै खुट्टामा बन्चरो नहान्नुहोला,’ उनले कार्यकर्तालाई भने, ‘गुटले कहीँ लाँदैन कसैलाई। विध्वंशबाहेक केही गर्दैन। हामी अब गुट समूह, स्वास्थ्य इत्यादि गरेर नेपाली समाजवादी क्रान्तिलाई बर्बाद पार्नेहरूलाई छुट दिन सक्दैनौं।’
माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले बिहीबार पोखरामा आयोजना गरेको गण्डकी प्रेदश स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।
नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले लिएको लाइनमा विगत केही समयदेखि उपाध्यक्ष एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले फरक मत राख्दै आएका छन्।
अध्यक्षविरूद्ध अभिव्यक्ति दिएको भन्दै शर्माविरूद्ध अध्यक्ष प्रचण्ड निकट नेताहरूले पछिल्लो केन्द्रीय कमिटी र स्थायी कमिटीमा आवाज उठाएका थिए। जनार्दनले पार्टीभित्र गुटबन्दी गर्दै आएको प्रचण्ड पक्षधरको आरोप छ।
जनार्दन शर्माले केही मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्री भ्रष्ट भएको आरोप लगाएपछि अध्यक्ष प्रचण्ड उनीप्रति क्रुद्ध छन्।
पार्टीमा गुट गर्नेलाई छुट दिए पार्टीको नीति, निर्णय र नेतृत्वविरूद्ध सार्वजनिक गालीगलौज गर्नेलाई परास्त गर्न नसकिने बताए। सँगै सडेका साथीहरूले सकेसम्म कुरा बुझून् भनेर आफूले स्थायी समिति बैठकमा अन्तिमसम्म सम्झाएको बताए।
‘हामीसँगै लडेका हिँडेका साथीहरू फुटेर गइहाल्छन् भन्ने चाहना हामीलाई छैन। सकेसम्म तिनीहरूले कुरा बुझून्। गुटबन्दी नगरून्। तिनीहरूले अराजकता नफैलाऊन्। तिनीहरूले आफ्नो खुट्टामा बन्चरो नहानून् भनेर स्थायी समिति बैठकमा अन्तिम समयसम्म पनि मैले साथीहरूलाई सम्झाएँ,’ उनले भने।
अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिमा जाने तयारी गरिरहेको बताउँदै निर्वाचनलाई आन्दोलनका रूपमा अघि बढाएर समाजवादी क्रान्तिको नीति अघि लैजाने बताए।
दलाल नोकरशाहसँग संझौता गर्दा आफूहरूलाई पनि धुलो लागेकाले पखालेर ‘फ्रेस’ हुन परेको बताए।
हामी समाजवादी क्रान्तिमा प्रवेशको चरणमा छौं। यो बीचमा दलाल, नोकरशाहसँग सम्झौता गर्दा हामीलाई पनि धुलोमैलो लागेको छ। अलिअलि स्वार्थ, पदलोलुप धेरथोर भएको छ,’ उनले भने, ‘केन्द्रीय समितिमा यो खाल्न पर्यो। फ्रेस हुन पर्यो। साँच्चै समाजवादी क्रान्तिमा जाने हो भने।’
आफू प्रधानमन्त्री हुँदा सुशासनको पक्षमा र भ्रष्टाचारका विरूद्ध राम्रो काम गरेकाले कार्यकर्ता र जनतामा आशा पलाएको पनि बताए।
‘म विचित्र तरिकाले सरकारमा पुगेपछि सुशासनका पक्षमा, भ्रष्टाचारको विरूद्ध र सामाजिक न्यायका पक्षमा काम गर्दा जनतामा अलिअलि आशा पलाएको थियो,’ उनले भने, ‘नुन खाएको कुखुरा जस्ता हाम्रा नेता कार्यकर्ता अलिअलि तङ्ग्रिन खोजेका थिए। दलालहरू आतङ्कित भइहाले।’







Facebook Comments