
काठमाण्डाैँ । विभिन्न शंकास्पद क्रियाकलापमा संलग्न तीन इण्डोनेसियन नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । भिसाको उद्देश्यविपरीत काम गरेको भेटिएपछि अध्यागमनले उनीहरुलाई पक्राउ गरेको हो ।
समातिने तीन महिलामध्ये एकले पर्यटन भिसा र दुईले अध्ययन भिसा लिएको पाइएको अध्यागमनले जनाएको छ । अध्यागमनका अनुसार सन् २०२४ मा नेपाल आएका उनीहरुले ‘वर्किङ भिसा’ नलिइकन ललितपुरको धोबिघाटस्थित हिमालय शिक्षा हितेशी समाजमा गर्ल्स होस्टेल सञ्चालन गरेर टर्किस भाषा र कुरान सिकाउँदै आएका थिए ।
त्यसैगरी, उनीहरुले अवैध रुपमा मुस्लिम धर्मको प्रचारप्रसार गर्ने गरेको अध्यागमनको भनाइ छ । अध्यागमनका अनुसार त्यसबापत उनीहरुले टर्कीमा रहेको ‘साहा ईगीतम कुल्तुर भे दस्तुलुक डेनर्गी, साहा इन्टरनेशनल’ र बेलायतको एक धर्मप्रचारक संस्थाबाट वर्षेनी दुई करोड ५० लाख रुपैयाँ पाउने गरेको बताइन्छ ।
अध्यागमनका निर्देशकसमेतको टोलीले उनीहरुलाई ५० जना छात्रालाई कुरान पढाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । ललितपुरकै ज्वागलमा ब्याइज होस्टल राखेर कुरान पढाउने गरेको जानकारी प्राप्त गरेको उल्लेख गर्दै अध्यागमनले त्यसमाथि अनुसन्धान भइरहेको बताएको छ ।
पर्यटन भिसामा बसेको विदेशी नागरिकले नेपालमा काम गर्नुपरेमा ‘वर्किङ भिसा’ लिनुपर्छ । ‘अध्यागमन नियमावली, २०५१’ ले ‘वर्किङ भिसा’ बिना कुनै विदेशी नागरिक र परिवारको सदस्यले काम गर्न नपाउने व्यवस्था गरेको छ । गैरकानुनी रुपमा काम गरेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना र पुनः नेपाल प्रवेश गर्न नपाउनेगरी निष्काशन गरिने प्रावधान छ ।







Facebook Comments