काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकलाई लिएर असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
महासंघले भदौ ११ गतेदेखि सडक आन्दोलन घोषणा गरेको छ । भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, सबै राजनीतिक दल, विभिन्न समितिका सभापतिलाई भेटेर ध्यानाकर्षण गर्ने महासंघले जनाएको छ । भदौ ९ गते नै दुई घण्टा धर्नामा बस्ने, १३ गते शुक्रबार सबै पालिकामा र १५ गते सबै जिल्लाको समन्वय  इकाइमा ध्याकर्षणपत्र बुझाउने महासंघले जनाएको छ । भदौ २१ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

महासंघको असन्तुष्टिका बाबजुद समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको उनले आरोप लगाए । प्रस्तावित शिक्षा विधेयक महासंघसँग भएको सहमति विपरीत भएको उनको भनाइ छ । विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहे पनि शिक्षक कर्मचारीका मुख्य सरोकार र गितका सहमतिमा रहेका धेरै विषय अझै पनि सम्बोधन हुन नसकेको महासंघ अध्यक्ष सुवेदीले बताए ।

विगतमा भएका सहमति कार्यान्वयनका लागि महासंघ फेरि आन्दोलनमा जान बाध्य भएको उनले बताए । कतिपय पालिकाले शिक्षकको सहमतिबिना आग्रह/पूर्वाग्रह राख्दै अपायक सरुवा गरेको भन्दै महासंघले आपत्ति जनाएको छ ।  अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र विरोध प्रदर्शनलगायतका कडा कार्यक्रम ल्याउने चेतावनी दिए ।

उनले अबको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने बताए । उनले आफ्ना माग र मुद्दाहरू समेटिने गरी सदनमा छलफल भएर विधेयक पारित हुने विश्वास व्यक्त गरे । 
अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र विरोध प्रदर्शनलगायतका कडा कार्यक्रम ल्याउने चेतावनी दिए । उनले अबको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने बताए । उनले आफ्ना माग र मुद्दाहरू समेटिने गरी सदनमा छलफल भएर विधेयक पारित हुने विश्वास व्यक्त गरे ।  

बिहीबार (भदौ ६ गते ) मात्र प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक पारित गरेको थियो । विधेयकमा निजी विद्यालय सञ्चालकले पनि असन्तुष्टि जनाएका छन् ।