काठमाडौँ । सरकारले ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

उनले कार्यक्रमबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँदै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियानको थालनी गरिएको हो ।”

उनले उपलब्ध प्राचीन ज्ञान र आधुनिक विज्ञान एवं अध्ययन अनुसन्धानले देखाएका तथ्यमा आधारित भएर आयुर्वेद क्षेत्रको विकास, आधुनिकीकारण र राष्ट्रिय स्वास्थ्य प्रणालीमा जोड्न तथा जडिबुटीको अधिकतम उपयोग गर्दै स्वदेशी औषधि उत्पादनलाई प्रवर्द्धन गर्ने बताएका छन् ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने स्वास्थ्य प्रणालीको विकास गर्नुपर्नेमा उनको जोड छ ।