
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र किनबेच प्रकरणमा संलग्न रहेको आरोपमा कँडेललाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो। शुक्रबार पार्टीले पत्र जारी गर्दै उनलाई कुनै पनि जिम्मेवारी नदिने गरी निलम्बन गरेको हो।
रास्वपाले आफ्नो पत्रमा भनेको छ ‘नेपाल सरकारको विद्यमान कानुन विपरीतको कार्यमा संलग्न भएको सूचना प्राप्त भएकाले प्रहरीको छानबिन तथा अनुसन्धानमा सहजता पुर्याउन निलम्बन गरिएको हो। आरोप प्रमाणित भएमा थप कारबाही हुनेछ।’
कँडेलले सञ्चालन गरेको चितवनस्थित इन्स्टिच्युटमार्फत नक्कली प्रमाणपत्र किनबेच हुँदै आएको पत्ता लागेपछि रुपन्देही प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि भदौ १ गते रुपन्देहीको बेलहिया बसपार्कबाट भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरिएको थियो। यादवको साथबाट नेपाल तथा भारतका विभिन्न शैक्षिक संस्था र विश्वविद्यालयका नक्कली प्रमाणपत्र, स्टाम, होलोग्राम र स्टिकर बरामद भएको प्रहरीले जनाएको छ।
उनको साथमा नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्री समेत फेला परेको थियो । तीनै यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।







Facebook Comments