धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको तयारी तीव्ररूपमा अघि बढीरहेको छ ।

विभिन्न समिति र उपसमिति बनाएर तयारी गरिरहेको सरकारले केही दिनभित्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तासँग छलफल र संवाद अघि बढाउने भएको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेशमा लगानीमैत्री वातावरण सृजना गरेर विश्वका लगानीकर्तालाई सुदूरपश्चिममा ल्याउन सरकारले गृहकार्य गरिरहेको बताए ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको प्रचार उपसमितिको बैठकलाई सम्बोधन गर्दै प्रदेश अर्थमन्त्री थापाले नीतिगत रूपमा सुधार गरेर लगानीको वातावरण बनाउन काम भइरहेको बताए ।

‘लगानीमैत्री कानुन बन्छ । कतिपय कानुन संशोधन गर्नुपर्छ, केही नयाँ बनाउनुपर्छ । लगानीकर्तालाई सहुलियत र सुरक्षा दिन प्रदेश सरकार तयार छ,’ उनले भने, ‘अहिले सरकार प्रदेशमा धेरैभन्दा धेरै लगानी भित्र्याउने गृहकार्यमा लागेको छ ।’

कार्यकारी समितिको नेतृत्वसमेत गरेका अर्थमन्त्री थापाले ८ गतेदेखि काठमाडौंमा एक सातासम्म लगानी छलफल हुने जानकारी दिए ।

लगानी सम्मेलनका लागि मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा मूल आयोजक समिति रहेको छ भने परराष्ट्रमन्त्री आरजू राणा देउवाको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।

सल्लाहकार समितिले काठमाडौँमा लगानी बैठकको समन्वय गरिरहेको भन्दै अर्थमन्त्री थापाले सरकारले प्रदेशमा लगानीको वातावरण सृजना भएको बताउँदै लगानीकर्तालाई लगानी गर्न आग्रह गर्ने बताए ।

सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना रहेको भन्दै ती सम्भावना पहिचान गरेर लगानी भित्र्याउने सरकारको योजना रहेको उनले सुनाए ।

‘ऊर्जा, होटल, पर्यटन, खानी लगायतका क्षेत्रमा लगानी गर्न चाहने व्यवसायीसँग हामीले ८ गतेदेखि नै छलफल सुरु गर्नेछौँ,’ उनले भने, ‘लगानी तथा विकास सम्मेलनले सुदूरपश्चिमको समृद्धिमा ठूलो टेवा पु¥याउनेछ ।’

प्रचार उपसमितिका संयोजक सांसद शिवसिंह ओलीले सम्मेलनले सुदूरपश्चिममा लगानी भित्र्याउनेसँगै प्रदेशको पहिचानमा पनि ठूलो भूमिका खेल्ने बताए ।

बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाल र भारतमा मात्र नभई एशियाली मुलुकले पनि सुदूरपश्चिमको सम्भावना र अवस्थाबारे जानकारी पाउने बताए ।

‘लगानी सम्मेलनले सुदूरपश्चिममा लगानी मात्रै भित्र्याउने होइन, सम्भावनाको खानीका रूपमा यो प्रदेशले पहिचान बनाउनेछ’, उनले भने, ‘सम्मेलनले प्रदेशको आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्याउने विश्वास छ ।’

बैठकमा नीति तथा कानून अध्ययन सिफारिस उपसमितिका संयोजक सांसद डा. तारा जोशी र लगानीकर्ता पहिचान तथा समन्वय उपसमितिका संयोजक पूर्वअर्थमन्त्री नरेश शाही,प्रदेश नीति तथा योजना आयोग सदस्य नृप सुनार पनि उपस्थित थिए ।

उनीहरूले प्रदेशलाई लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनीहरूले परियोजना पहिचान गर्ने काम भइरहेको समेत जानकारी दिए । बैठकमा उपसमितिका सदस्यहरूले सम्भावनासँगै चुनौतीका विषयमा पनि चर्चा गरेका थिए ।