
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सवाल–जवाफमा उत्रिएका छन् ।
एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले प्रश्नैप्रश्न तेर्साएको भोलिपल्टै (भदौ ६) ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलबाट जवाफ फर्काएका हुन् ।
एमाले छाडेर स्वतन्त्र चुनाव जितेका सांसद प्रभु साहको पार्टीका नेताहरूलाई स्वागत गर्दै ओली भण्डारीमाथि खनिए ।
भण्डारीले बिहीबार थापागाउँमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउनका लागि आफू संरक्षक रहेको मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै ओलीमाथि प्रश्न उठाएकी थिइन् । एमालेले सदस्यता नदिएकोप्रति आक्रोशित भण्डारीले ओलीले नेतृत्व गरिरहेको सरकारको समीक्षा गर्नुपर्ने बताएकी थिइन् । उनले पार्टी सदस्यताबारे च्यासलले प्रश्न उठाएको र आफू एमालेमा नै संघर्ष भन्दै सन्देश दिएकी थिइन् ।
“साथीहरू नेता भन्छन्, तर आफ्नो त पार्टीको संगठित सदस्यतामा नै प्रश्न उठाएको छ यो च्यासलले,” उनले भनिन्, “सदस्यता लिएको ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने बेलामा सदस्य भएको ३५ वर्ष भएको थियो ।”
उनले एमाले पार्टी नै नजन्मिँदा नै आफू राजनीतिमा होमिएको बताएकी थिइन् । आफू निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको सुनाएकी थिइन् । भण्डारीको आक्रमक अभिव्यक्तिप्रति प्रश्नैप्रश्न समेत तेर्साएका छन् ।
कसले खोस्यो सदस्यता ?
एमालेले गएको साउन ५–६ गतेको केन्द्रीय समिति बैठकबाट भण्डारीको सदस्यताबारे निर्णय गरेको थियो । भण्डारीलाई पार्टी राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नखोसेको जिकिर गरे ।
“कहाँ, कसको सदस्यता खाइदियो ? खोसिदियो च्यासलले ? च्यासल भनेको एउटा ठाउँको नाम हो । च्यासलले कसैको सदस्यता खोसेको छैन । खोस्नुपर्ने आवश्यकता पनि छैन,” ओलीले जवाफ दिए ।
भण्डारीले राष्ट्रपति हुने बेलामा पार्टी सदस्यता परित्याग गरेर जानुपर्ने व्यवस्था सुनाए । “पूर्वराष्ट्रपतिजीको सदस्यताबारे भ्रम नपरोस् । उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुने बेलामा उहाँले परित्याग गर्नुभएको हो । राष्ट्रपति हुने बेलामा परित्याग गरेर जानुपर्छ,” ओली भन्छन् ।
नवीकरण होइन नयाँ सदस्यता
भण्डारी २०७२ कार्तिक ११ गते नेपालको प्रथम महिला राष्ट्रपति चुनिएकी थिइन् । ०७९ फागुन २९ दोस्रो कार्यकाल सकेर शीतलनिवासबाट फर्किइन् ।
भण्डारीले राष्ट्रपतिको कार्यकालपछि पार्टी कार्यालयका कर्मचारी झुक्याएर सदस्यता लिएको आरोप लगाए ।
“राष्ट्रपतिबाट फर्र्किएर आएपछि सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि त,” ओलीको आरोप छ, “त्यत्रो राष्ट्रपति भएको मान्छे होला कर्मचारी । त्यसरी लिने होइन ।”
उनले भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने बरु नयाँ लिन सकिने सन्देश दिए । “छोडेको सदस्यता नवीकरण हुँदैन । भइरहेको सदस्यता मात्रै नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?,” उनी भन्छन्, “उहाँको सदस्यता थिएन । उहाँले ०७२ कार्तिक १२ कि १३ गते छोड्नु भएको हो । त्यसयता उहाँको पार्टी सदस्यता छैन ।”
भण्डारीलाई सदस्यता नै प्यारो भए राष्ट्रपति हुन नगएको भए हुन्थ्यो समेत भन्न भ्याए । “घरिघरि मेरो सदस्यता भन्नुहुन्छ । राष्ट्रपति हुन नजानुपर्थ्यो नि त । मेरो सदस्यता प्यारो । म त्यसैमा बस्छु, जान्न राष्ट्रपतिमा भन्नुपर्थ्यो नि त । त्यतिबेला छोडेर जानुभयो,” ओलीले आक्रोश पोखे ।
उनले भण्डारीले पार्टी सदस्यतालाई निरन्तरता दिन चाहेको विषयमा पार्टीमा कुरा नगरेको जिकिर गरे ।
“ओलीले पार्टी सदस्यतालाई निरन्तरता दिन चाहेको भए पार्टीमा कुरा गर्नुपर्थ्यो । निवेदन गर्नुपर्थ्यो । पार्टीमा कुरा गर्नुभएको छैन । नयाँ सदस्यताको प्रक्रियामा पनि आउनुभएको छैन,” ओलीले भने ।
उनी थप्छन्, “कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरे भनेर शुल्क तिर्र्दैमा सबैले सदस्यता पाउँछ ? नवीकरण हुन्छ ?”
ओली त्यतिमै रोकिएनन् । पार्टी सदस्यताका विषयमा टेलिभिजनमा दिएको अन्तर्वार्तामा समेत ओलीले आपत्ति जनाए । “हामीसँग पनि पार्टी सदस्यता सम्बन्धमा केही गरी पाउँ भन्नुभएको छैन । बाहिर बाहिर बजारमा टेलिभिजनले दिने त होइन होला त ? टेलिभिजनमा गएर भनिराख्नुभएको छ,” उनले भने ।
ओलीले दुईपटक राष्ट्रपति भएको व्यक्तिले फर्किएर पार्टीमा समस्या खडा गर्ने कल्पना समेत नगरेको सुनाए । पार्टीका जनसंगठनको चुनावमा पराजित भएका व्यक्तिहरूलाई लिएर अघि बढेकोमा ओलीले असन्तुष्टि पोखे ।
“पार्टीले दुई–दुई पटक राष्ट्रपति बनायो । त्यस्तो व्यक्ति फर्किएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा पार्टीले कल्पना गरेको थिएन,” उनी भन्छन् ।
असन्तुष्टहरूको जमात लिएर भण्डारी कुदेको आरोप उनको छ । “उहाँ आएर पार्टीमा सहयोग पुग्नुपर्ने । उहाँ आएर पार्टीको एकतामा बल पुग्नुपर्ने, पार्टीमा सधैँ असन्तुष्ट र पक्षमा नबोल्ने, पार्टीका विभिन्न जनसंठनका चुनाव हारेका मान्छेहरूलाई भेला गरेर असन्तुष्टहरूको जमात खडा गरेर कुदिराख्नुभएको छ,” ओलीको आरोप छ ।
पार्टी कार्यालय नै खोलेको आरोप
भण्डारीले पार्टी कार्यालय नै खोलेको आरोप लगाएका छन् । ०८३ को असार १४ गतेको जन्मजयन्ती मनाउन अहिले नै पार्टी कार्यालय खोल्नुपर्छ भनि सोधे । पार्टीका विरुद्धमा क्रियाशील भएको आरोप लगाए ।
“जननेता मदन भण्डारीका अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय, के कार्यालय खोल्नुपर्छ ? अर्को वर्ष आउने असार १४ गतेको जन्मदिन मनाउन पार्टी कार्यालय खोलेर पार्टीका विरुद्धमा क्रियाशील हुने,” ओलीको आक्रोश छ ।
ओलीले भण्डारीको तरिका गलत भएको बताए । “भित्रभित्र क्रियाशील हुने र असन्तुष्ट रहेको त्यस्ता तत्वहरूलाई भेला गरेर जन्मदिन मनाउने भन्नपर्छ ? पार्टी कार्यालय खोल्नुपर्छ ? उहाँको तरिका ठिक नभएको हो,” उनले भने ।
गएको असार १४ गते एमालेमा सक्रिय भएको घोषणा गरेकी भण्डारीले एमालेमा सक्रिय हुने घोषणा गरेकी थिइन् ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको समिति गएको असार ३१ गते घोषणा गरिएको थियो । सोही समितिको सम्पर्क कार्यालय भनेर विद्या अघि बढेपछि ओलीले आक्रोश पाखेका हुन् । सोही समितिमार्फत देश दौडाहमा निस्कने विद्याको योजना रहेको निकटस्थहरू बताउँछन् ।
भण्डारीको सक्रियतालाई लिएर ओली सशंकित देखिन्छन् । ओली गएको साउन २६ गते मदन भण्डारी फाउन्डेसनबाट भइरहेको गतिविधिप्रति आक्रोशित भएका थिए । उनले फाउन्डेसन पार्टीले नखोलेको र अब कसरी जान्छ भन्ने हेर्नुपर्नेमा पुगेको बताएका थिए ।







Facebook Comments