काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकसँग घुँडा टेक्दै एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय तत्काल सच्याउन प्रा.डा गोविन्द केसीले आपत्ति जनाएका छन् ।

साथै, उनले उक्त निर्णय तत्काल सच्याउन पनि सरकारसँग माग गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर १३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय गरेको थियो ।

सरकारको त्यो निर्णयले स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असर पार्ने उनले बताएका छन् ।

उनले आफूहरूका माग पूरा गर्न सरकारलाई थप एक साताको समय दिएको र उक्त समयसीमाभित्र माग पूरा नभए सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।

‘चिकित्सा शिक्षा आयोगलाई हाम्रो माग पूरा गर्न थप एक हप्ताको समय दिन्छौं । त्यो समयसीमाभित्र पनि हाम्रा मागहरूको सुनुवाइ नभए सत्याग्रह सहितका आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुनेछौं भन्ने कुरा जानकारी गराउँदछु,’ केसीले भनेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डलाई सत्ता र पदको दुरुपयोग गरेर माफियलाई संरक्षण दिने काम गरेको आरोप पनि विज्ञप्तिमार्फत लगाएका छन् ।

हालैको सिट बढाउने गैरजिम्मेवार निर्णयलगायत केही समययताका आयोग सरकार र अदालतका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको उनले बताएका छन् ।