काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशका केही स्थानमा ‘भारी’ वर्षा भएको छ । यो अवधिमा सबैभन्दा बढी पानी काठमाडौंको बूढानीलकण्ठमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टा (आइतबार बिहान करिब ८ः२० बजेसम्म)मा बूढानीलकण्ठमा ६६.२ मिलिमिटर वर्षा मापन गरिएको छ । यो भनेको भारी वर्षा हो । रुकुम पश्चिम, कैलाली, दार्चुलामा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

“गएको २४ घण्टामा सबैभन्दा बढी पानी काठमाडौंको बूढानीलकण्ठमा (६६.२ मिलिमिटर) परेको छ । ५० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने भारी पानी परेको भनिन्छ,” महाशाखाले भनेको छ, “रुकुम पश्चिम, कैलाली, दार्चुलामा पनि भारी वर्षा भएको छ ।”

अघिल्लो २४ घण्टा अर्थात् शनिबार बिहान काठमाडौंकै सुन्दरीजलमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो । मकवानपुर गढीमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । मनसुन सक्रिय नभएको अवस्थामा पनि केही दिनयता देशका विभिन्न स्थानमा हल्का/मध्यम/भारी वर्षा भइरहेको छ । आइतबार (भदौ ८) बिहान पनि काठमाडौंमा पानी परेको थियो ।

वाग्मती र कर्णालीका एक–दुई स्थानमा दिउँसो भारी वर्षा : तराईमा हावाहुरीको पूर्वानुमान
“हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ,” महाशाखाले भनेको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।