दाङ । दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

गढवा गाउँपालिका–१, धोद्रे पुलनजिक आइतबार (भदौ ८) बिहान करिब ६ बजे चन्द्रौटादेखि पश्चिमतर्फ जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटातिर गइरहेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेका इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं इन्स्पेक्टर डबलबहादुर बमले जानकारी दिए । भालुबाङ अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएको हो ।

सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षीय प्रचण्ड थापा घाइते छन् । भालुबाङ अस्पतालमा सामान्य उपचारपछि उनलाई बुटवल पठाइएको इन्स्पेक्टर बमले बताए । मृतकको शव परीक्षणका निम्ति लमही अस्पतालमा पठाइएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।