
काठमाडाैँ । मनसुन सकिनै लाग्दा देशका विभिन्न स्थानमा हैजाको प्रकोप देखिन थालेको छ। केही दिनयता तराईका जिल्लामा हैजाको संक्रमण तीव्र भएको छ भने वीरगञ्जका दुई संक्रमितको मृत्यु भइसकेको छ।
समुदायमै हैजाको प्रकोप फैलिन थालेपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गरिएका छन्। पर्सा जिल्लामा पछिल्ला १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो। झाडापखाला भएका व्यक्तिहरूको आरडीटी परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भएको छ।
खानेपानी पाइपमा ढल मिसिनुका कारण वीरगञ्जमा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ। यसै आधारमा हैजाको संक्रमण देखिएका ११ स्थानबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडाैँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा ल्याइएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वीरगञ्जमा हाल १२९ जना हैजाका बिरामी अस्पतालमा भर्ना भएका छन्, जस मध्ये ३६ जनामा कोलेरा भाइरस पुष्टि भएको छ। नारायणी अस्पताललाई ‘हब’ बनाइएको छ भने अन्य निजी अस्पतालमा पनि स्रोतसाधनअनुसार बिरामी राखिएको उनले बताए।
बुढाथोकीले भने, “संक्रमण फैलनुको मुख्य कारण खानेपानी हो भन्ने देखिएको छ तर कुन मुहानबाट संक्रमण सुरु भयो भन्ने पुष्टि भइसकेको छैन। हामीले तीन स्थानबाट संक्रमण फैलिएको आशंका गरेका छौं। त्यसैले ती स्थानका पानी नमुना संकलन गरी परीक्षणका लागि काठमाडाैँ ल्याइएको छ ।”
उनका अनुसार केही स्थानमा पानी भण्डारण प्रणालीमै गडबडी भएको देखिन्छ। केही समयअघि खडेरीका कारण सुकेको इनार र ट्याङ्कीहरूमा सरसफाइ नगरी पानी संकलन गरिएको पाइएकाले पनि जोखिम बढेको छ। खानेपानी मन्त्रालयसँग सहकार्य गरेर संक्रमित क्षेत्रहरूमा शुद्धीकरणको काम सुरु भइसकेको बुढाथोकीले जानकारी दिए।
खोप अभियानबारे उनले भने ‘खोपले तत्काल हैजा निको पार्दैन। खोप लगाएको ४–५ दिनपछि मात्र यसको प्रभाव देखिन्छ। अर्को पटक संक्रमण नहोस् भन्ने उद्देश्यले मात्र खोप लगाइन्छ।’
उनले काठमाण्डु पनि संक्रमणको उच्च जोखीममा रहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरे।’काठमाण्डु संक्रमणको जोखीम उच्च छ । पानीको पाइप फुट्ने र ढल पस्ने जोखीम धेरै भएकाले जुनसुकै स्रोतको पानी भए पनि उमालेर वा फिल्टर गरेर मात्र पिउन आग्रह गर्छु । मिनिरल वाटर राखेका भाडाकुडा पनि कति सफा छ थाहा हुँदैन’ । उनले भने।
हैजा फैलन नदिन सरकारले सचेतना फैल्याउने, स्वास्थ्य जनशक्तिलाई चुस्त दुरुस्त राख्ने, औषधी उपचारको व्यवस्थापन गर्ने, खाने पानी शुद्धिकरण अभियान चलाउने लगायतका काम अगाडि बढाएको प्रवक्ता बुढाथोकीले बताए ।
यो रोग नेपालमा मात्र नभई अन्य मुलुकहरुमा पनि फैलने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले त हैजालाई गरिबीको रोग भनेर व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ।
अफ्रिका र एशियाका विभिन्न देश तथा क्यारिबीअन क्षेत्रको हेइटीमा बस्ने मानिसहरू यसबाट बढी प्रभावित भएको पाइएको छ। डब्ल्यूएचओको अनुमानअनुसार प्रत्येक वर्ष यो रोगका करिब १३ देखि ४० लाख बिरामीहरू देखिन्छन् र विश्वभरि २१ हजारदेखि १ लाख ४ हजार मानिसहरूको मृत्यु हुने गर्छ।
प्रवक्ताद्वारा सुझाइएका रोकथामका मुख्य उपायहरू
–हैजाबारे सचेतना फैलाउने
–पटकपटक साबुनपानीले हात धुने
–सकेसम्म उमालेर मात्र पानी पिउने (जुनसुकै पानी भए पनि)
–उमाल्न नसके क्लोरीन प्रयोग गर्ने
–सडकछेउ वा खुला ठाउँमा राखिएका खानेकुरा नखाने
–खानेकुरा छोपिएको वा हात धोएको नभएको अवस्थाको ध्यान राख्ने
–वर्षायाममा खानेपानी पाइप फुटेरको देखेमा मर्मत सम्भारका लागि खवर गर्ने
–– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
– पानीको मुहान,भाँडाकुडा सफा राख्ने
– शौचालयमा मात्र दिसापिसाब गर्ने
हैजाका लक्षणहरू
– निरन्तर अधिक पातालो दिसा लाग्नु
– पटकपटक वान्ता आउनु
– पेट वा खुट्टाको मासपेशी बाउडिनु
– आँखा गढ्नु, छाला चाउरी पर्नु
– धेरै तिर्खा र थाकान लाग्नु
– धेरै कमजोरीका कारण वेहोस हुनु
उपचार
– पुनर्जलीय झोलको सेवन गर्ने
–झोलीलो पोषिलो खानेकुरा खाने
– चिकित्सकको परामर्श लिने




_eDRH6Bm5KD.jpg)


Facebook Comments