काठमाडौं । युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

आयोगका अनुसार गत २०८२ साउन ३ गते भित्र स्पष्टीकरण पेस गर्न भनिए पनि राईले लिखित जवाफ पेस नगरी संगठनविपरीत गतिविधि जारी राखेका थिए । विशेष गरी उनले सामाजिक सञ्जालमार्फत संगठन विरोधी प्रचार–प्रसार गरेको, समानान्तर समिति गठन गरेर आन्तरिक जीवनलाई प्रभावित पारेको र संघको एकता तथा अनुशासनमा गम्भीर आघात पुर्‍याएको आयोगले जनाएको छ ।

संगठनका इन्चार्ज कमरेड लक्ष्मण केसीको सिफारिसमा बनेको नयाँ राष्ट्रिय महाधिवेशन आयोजन समिति गठन भएपश्चात् राईले समानान्तर समिति बनाएको आरोप लागेको हो । संघको विधान २०७८ को धारा १६ (घ) अनुसार, आयोगले राईलाई साधारण सदस्यता समेत नदिई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय लिएको छ ।

यस विषयमा आयोगका अध्यक्ष विकल केसीले  भने, ‘अनुशासन विपरीतका कार्यलाई संगठनले गम्भीरतापूर्वक लिएको छ’ भन्दै आगामी दिनमा यस्ता गतिविधि सहन नसक्ने चेतावनीसमेत दिएका छन् । त्यसैगरी यता संस्थापन पक्ष भने राईलाई समानान्तर कमिटी बनाउन झलनाथ खनालले निर्देशन दिएको र आफ्नो छोरालाई अगाडि बढाउनका लागि पृष्ठभूमि तयार गर्दै गरेको दाबी गर्छ ।  

यता   स्वघोषित रूपमा समानान्तर कमिटीमा अध्यक्ष बनेका राई युवा संघमा सह–संयोजक छन् भने  उपाध्यक्ष   निर्भीक खनालको भने उता युवा संघमा कुनै पनि पद अहिलेसम्म छैनन् ।
साथै, राई र खनाल ठेक्का-पट्टाको व्यवसायमा साझेदार भएको र  केही कम्पनी पनि कालोसूचीमा रहेका उनीहरूको  दाबी गर्दै आएको छ ।