
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबिच वीरगन्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री यादवले स्वास्थ्यमन्त्री पौडेलसँग भेट गरी वीरगंजमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल गरेका मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
उक्त छलफलमा वीरगन्जका प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्ने सहमति भएको खानेपानी मन्त्री यादवले जानकारी दिए ।
उनले भने, ‘हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबिच घनिष्ठ समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ।’
वीरगन्ज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा सङ्क्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको मन्त्री यादवले बताए ।
उनले भने, ‘वीरगन्जमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्ण रूपमा सक्रिय छौँ। यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको हुँदा सबैलाई साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।’




_eDRH6Bm5KD.jpg)


Facebook Comments