काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । यी दुई प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको औंल्याएको छ । भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि देशभर मौसम बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरीबतासको सम्भावना समेत रहेकाले थप सावधानी अपनाउन आग्रह गरिएको छ ।