
काडमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक, २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै आजदेखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा शिक्षकको सेवा सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाइएको आरोप लगाए ।
गएको वैशाखमा शिक्षकले एक महिनासम्म आन्दोलन गरेका थिए । सरकारसित नौबुँदे सहमतिपछि आन्दोलन रोकिएको थियो । तर, यही भदौ ६ गते प्रतिनिधिसभामा पेस गरिएको उक्त विधेयकमा ती सहमति कार्यान्वयन नभएकाले महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताए ।
सुवेदीले आन्दोलनको पहिलो चरणमा भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइने बताए ।
भदौ ११ देखि २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्ट धर्ना दिइने उनले जानकारी दिए ।
भदौ २१ गतेदेखि दोस्रो चरणको कडा आन्दोलन थालिने महासंघले जनाएको छ । सुवेदीले आफूहरूको आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानका निम्ति भन्दै माग पूरा नगरिएसम्म सडकबाट नफर्कने बताए ।







Facebook Comments