काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास लिएका छन् ।

सोमबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न उनकै निवास हरिसिद्धिमा पुगेका प्रचण्डले पार्टी एकताका लागि स्थायी समितिले निर्णय गरिसकेकाले सोही अनुसार निष्कर्षमा पुग्नेमा विश्वास लिएका हुन् ।

विप्लव निवासमा ४५ मिनेट बसेका उनले राजनीतिक थोरै कुराकानी भएको दुवै पक्षले दाबी गरेका छन् । विप्लवका सचिवालय सदस्य नारायण चन्दका अनुसार प्रचण्ड र विप्लवबिच समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने र पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको छ ।


‘महासचिव र प्रचण्डबिच आधा घण्टा छलफल भयो । प्रचण्डले पार्टी एकता गर्ने निर्णय हाम्रो पार्टीको स्थायी समिति गरिसकेको छ । एकतालाई सकारात्मक निष्कर्षमा पुर्‍याउन तपाईंको पार्टीले पनि सकारात्मक निर्णय गर्ने विश्वास लिएको छु भन्नुभयो । जवाफमा महासचिव विप्लवले पार्टीको केन्द्रीय समिति बैठक भदौ २२ मा बस्दैछ । सोही बैठकले निर्णय गर्छ भन्नुभयो । यस्तै समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा पनि दुई नेताबिच छलफल भयो । आजको छलफल राजनीतिक भन्दा पनि बढी पारिवारिक, उत्पादन गतिविधि तथा अवलोकन बढी भयो’, चन्दले भने ।