काठमाण्डाैँ । निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र २ मा पनि कात्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ।

रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा पनि कात्तिक १७ मै उपनिर्वाचन मिति तोकिएको छ।

२०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए।

चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो। सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो।

त्यससँगै मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त भएको हो। रिक्त पदमा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने गरी दुई चार दिनभित्रै निर्णय गरिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

गण्डकी प्रदेश सभा मनाङको क्षेत्र नम्बर 'ख' का सदस्यबाट मुक्त भएका दीपक मनाङे भनिने राजीव गुरूङले जेल सजाय काटेर निस्के पनि थप ६ वर्ष निर्वाचन लड्न नपाउने भएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार ४ गते गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको थियो। फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेलाई थप ६ वर्ष निर्वाचन लड्न नपाउने कानुनी व्यवस्था देखाएको हो।

‘दीपक मनाङे भन्ने राजीव गुरूङले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय पाएको सजाय पूरा भुक्तान गरिसकेपश्चात् थप ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहने नै देखियो,’ फैसलामा भनिएको छ।

सर्वोच्चले मनाङेलाई २०८१ कात्तिक २० गतेदेखि प्रदेश सभा सदस्यको रूपमा अयोग्य ठहर गरेको हो।

‘यसर्थ, संवैधानिक र कानूनी प्रावधान बमोजिम उल्लेखित ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको अन्तिम फैसला भएको मिति २०८१ कात्तिक २० देखि नै निज प्रत्यर्थी प्रदेश सभा सदस्यका रूपमा कानूनतः अयोग्य भएको देखियो,’ फैसलामा उल्लेख छ। 

संवैधानिक इजलासले दुई वटा कानुनी व्यवस्थाले गर्दा मनाङेलाई अयोग्य ठहर गरेको हो।

पहिलो, संविधानको धारा १७८ (१) (ङ) मा ‘कुनै कानुनले अयोग्य नभएको’ व्यक्ति मात्र प्रदेश सभा सदस्य हुन योग्य हुने व्यवस्था गरेको छ।