काठमाण्डाैँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

संसदीय समितिहरूमा दलहरूले भागबन्डा गरी सभापति लिएका थिए। जसअनुसार नेपाली कांग्रेसलाई राज्य व्यवस्था तथा सुशासन समिति पनि परेको थियो।

समिति सभापति थिए- सांसद रामहरि खतिवडा। तर उनी निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरको विषयमा विवादमा तानिएका थिए। कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले कुलिङ परियड त्रुटिमा नैतिक जिम्मेवार सभापति खतिवडालाई ठहर्‍याएको थियो।

त्यसपछि खतिवडाले साउन २७ गते प्रतिनिधि सभा बैठकमा बोल्दै पदबाट राजीनामा दिएका थिए। साउन २७ गतेदेखि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त छ। सभापति नहुँदा बैठक बस्न सकेको छैन।

सभामुख देवराज घिमिरेले पटक-पटक समिति सभापति छिटो चयन गर्नुपर्ने बताइरहेका थिए। तर कांग्रेसले कसलाई समिति सभापति बनाउने निर्णय लिन नसक्दा ढिलाइ भइरहेको हो।

सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का राज्य व्यवस्था समिति सभापतिमा पुन: रामहरि खतिवडालाई नै दोहोर्‍याउन चाहिरहेको कांग्रेसका एक नेताले जानकारी दिए।

तर यो कुरामा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहमत छैनन्, उनीहरूले समितिकै कुनै एक कांग्रेसका सांसदलाई सभापति उम्मेदवार बनाएर जानुपर्ने बताइरहेका छन्।

सभापति देउवाले अहिले पदाधिकारीहरूलाई निवास बूढानीलकण्ठमा बोलाएका छन्। राज्य व्यवस्था समिति सभापतिमा कसलाई पठाउने भन्ने निर्णय लिन सभापतिले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।

सभापति देउवा निवास बूढानीलकण्ठमा सोमबार पनि यस विषयमा कुराकानी भएको थियो तर कुनै निर्णयमा पुग्न सकेको थिएन।

राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका सांसदहरू अम्बिका बस्नेत, गगन थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाईं, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य छन्।

यीमध्ये उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा तथा सांसद थानी राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा जाने पक्षमा छैनन्। सांसद बस्नेत, बडू, प्रसाईं र खतिवडा भने आकांक्षी छन्।

कांग्रेसबाहेक अन्य दलले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिका लागि उम्मेदवारी दिने सम्भावना कम छ। आज मनोनयन भएपछि समितिको बुधबारको बैठकमा प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ।