वीरगन्ज । झाडापखाला र हैजा प्रभावित वीरगन्जमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्या पनि बढ्दै गएको छ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार बेलुकीसम्म विभिन्न अस्पतालमा उपचारपछि निको भएर १७८ जना बिरामी घर फर्किएका छन्। गत शुक्रबारदेखि आइतबार बेलुकीसम्म झाडापखाला र हैजा संक्रमण पुष्टि भएका गरी ३ सय ४४ जना बिरामी अस्पतालमा भर्ना भएका थिए।

तीमध्ये सोमबार बेलुकीसम्म १७८ जना बिरामी उपचारपश्चात निको भएर घर फर्किएको र हाल अस्पतालमा १६६ जना बिरामी उपचाररत रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए। सोमबारमात्रै विभिन्न अस्पतालबाट गरी ५४ बिरामी डिस्चार्ज भएर घर फर्किएको उनले बताए। हालसम्म अस्पतालबाट डिस्चार्ज भएका बिरामी मध्ये केही हैजा पुष्टि भएका बिरामीहरू पनि रहेको उनले जानकारी दिए।
सोमबारसम्म नारायणी अस्पतालबाट ५७ जना, तराई हस्पिटलबाट ५७,नेशनल मेकिडल कलेजबाट ३५,प्रभु हस्पिटलबाट १०,नेपाल इण्डो हस्पिटलबाट ९, सर्वोत्तम हस्पिटलबाट ३ जना बिरामी निको भएर डिस्चार्ज भई घर फर्किएको ठाकुरले बताए। साहका अनुसार, सोमबार थप २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। यसअघि आइतबार २९ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो। 
आइतबारदेखि हैजाको संक्रमण पुष्टि हुने नयाँ बिरामीको संख्या कम हुँदै गएको साहले बताए।

गत शुक्रबारदेखि सोमबार बेलुकीसम वीरगन्जमा कूल ९३ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको ठाकुरले जानकारी दिए। हालसम्म नारायणी अस्पतालमा ३२ जना, तराई हस्पिटलमा ३२ जना, नेशनल मेडिकल कलेजका १२, भवानी अस्पतालमा ३, वीरगन्ज हेल्थकेयर हस्पिटलमा ३, मंगलम प्यथोलोजीमा ३, अलिल अर्थो अस्पतालमा २, नारायणी सेन्ट्रल हस्पिटलमा १, एडभान्स मेडिकेयर हस्पिटलमा १, नेपाल इण्डोहपस्टिलमा १, नीलकण्ठ हस्पिटलमा १, सर्वोत्तम अस्पतालमा १ र नेपाल मेडिसिटी बयोधा अस्पतालमा १ जनामा हैजाको संक्रमण पुष्टि भएको हो।

ठाकुरले वीरगन्जमा अहिले हैजाको संक्रमण नियन्त्रण उन्मुख रहेको बताए। उनले भने, ‘नयाँ बिरामी थपिने क्रम जारी त छर्दै छ। तर उपचार पाएर निको भई अस्पतालबाट डिस्चार्ज हुने बिरामीहरूको संख्या पनि आइतबारदेखि बढेको छ।’ मंगलबारदेखि डिस्चार्ज हुने बिरामीको संख्या अझ बढ्ने  पनि उनले बताए। ठाकुरले भने, ‘अहिले अस्पतालमा उपचाररत रहेकामध्ये पनि धेरै बिरामीको अवस्थामा निक्कै सुधार आइसकेको छ। त्यसका कारण मंगलबारदेखि डिस्चार्ज हुने बिरामीको संख्या अझ बढ्ने सम्भावना छ।’

वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले बाहिर हौवा बनाइएको जस्तो भयवाह अवस्था वीरगन्जमा नरहेको बताए। संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश र संघ सरकारको समन्वयमा महानगरपालिकाले गत शनिबारदेखि नै युद्धस्तरमा काम गरिरहेकाले संक्रमण नियन्त्रण उन्मुख रहेको बताए।

उनले भने,‘अस्पतालहरूमा शय्या र औषधिको अभाव छैन। टोल टोलमा जनचेतनामुलक कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेका छौं। अस्पतालहरूमा म आफैं निरन्तर अनुगमनमा गइरहेको छु। यी सब कारणले नै संक्रमणको अवस्था कन्ट्रोलतर्फ गइरहेको छ। आत्तिनुपर्ने त्यस्तो कुरा केही छैन। सजगता र सावधानी भने अपनाउनु जरुरी छ।’

महानगरपालिकाले वीरगन्जमा रहेका सरकारी र निजी गरी सबै ४० वटा अस्पतालका प्रतिनिधिहरूलाई बोलाएर बिरामीको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले बताए।