
विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माको अभिव्यक्तिप्रति टिप्पणी गर्दै एकजना व्यक्तिले नपत्याउँदैमा पार्टीको लामो आन्दोलन र इतिहास नरोकिने बताएका छन्।
उनले शर्माको अभिव्यक्तिबारे पार्टीको आन्तरिक बैठकमा समीक्षा गरिने जानकारी दिए।विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले नेता शर्माले हालै पार्टी नेतृत्वलाई ‘शेषनाग’ सँग तुलना गर्दै दिएको अभिव्यक्तिका बारेमा सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका हुन्।
‘एकजनाले नपत्याउँदैमा पार्टी आन्दोलन र इतिहास रोकिँदैन,’ अध्यक्ष दाहालले भने, ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा उहाँले के भन्नुभएको हो, त्योबारे पनि हामी फेरि समीक्षा गर्छौं।’फरक प्रसङ्गमा, अध्यक्ष दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमनबारे बोल्दै पूर्वराष्ट्रपतिले चाहेमा पालिकाको प्रमुखमा समेत चुनाव लड्न मिल्ने बताए।
उनले भण्डारीको सदस्यता नवीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीकै सहमति रहेको दाबी गर्दै चीन भ्रमणपछि एमालेभित्र के भयो भन्ने आफूलाई थाहा नभएको टिप्पणी गरे। अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनप्रति लक्षित गर्दै संविधान कार्यान्वयनमा अरुचि देखाएको आरोप लगाए। संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन र प्रहरी समायोजन ऐन जस्ता महत्त्वपूर्ण कानुनहरू रोकिएकोमा उनले सरकारको आलोचना गरे।
त्यसैगरी, कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादबारे बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा समाधानका लागि भारतसँग स्पष्ट कुरा राखेको र पहल सुरु गरेको दाबी गरे।







Facebook Comments