काठमाडौं । पछिल्लो २४ घण्टामा सुर्खेतमा ‘अति भारी’ वर्षा भएको छ । यो अवधिमा सुर्खेतको खानीखोलामा २९१.६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ । पर्वतको पञ्चासेमा १७९.६, बाँकेको बेल्भरमा १४६.४ मिलिमिटर पानी परेको छ । यो ‘धेरै भारी’ वर्षा हो ।

सिन्धुपाल्चोक, कास्की, दाङ र दार्चुलामा पनि धेरै भारी पानी परेको महाशाखाले जनाएको छ ।

अरू कतिपय स्थानमा पनि ठूलो पानी परेको छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको महाशाखाले जनाएको छ ।