
वीरगञ्ज । पर्सा जिल्लामा झाडापखाला तथा हैजाका केसहरू तीव्र गतिमा बढिरहेका छन् । स्वास्थ्य कार्यालय, पर्साले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म जिल्लाभरि ७१२ जना संक्रमित दर्ता भएको जनाएको छ।
तीमध्ये ३३ जना बिरामी आईसीयूमा, ४ जना एचडीयूमा र १५८ जना सामान्य वार्डमा उपचाररत छन्। हालसम्म ५१७ जना निको भई घर फर्किएका छन् भने १९५ जना अझै उपचाररत रहेको कार्यालयले जनाएको छ।
यस्तै, हैजा सम्बन्धी परीक्षण (RDT) अनुसार हालसम्म १६२ केस पोजिटिभ देखिएका छन्। तिनमध्ये १०१ जना डिस्चार्ज वा अन्यत्र रिफर भइसकेका छन् भने ६२ जना अझै उपचाररत छन्।
स्वास्थ्य कार्यालयका अनुसार साउन २८ गतेदेखि तराई अस्पतालमा झाडापखालाका केस देखिन थालेका थिए। भदौ ५ गते पहिलो पटक हैजाको केस पुष्टि भएपछि संघीय तथा प्रदेश सरकार, स्थानीय तह, स्वास्थ्य संस्थान र अन्तर्राष्ट्रिय सहयोगी निकायको समन्वयमा नियन्त्रण तथा जनचेतनामूलक अभियान सुरु गरिएको हो।
हालसम्म रेडियो संदेश, र्याली, माइकिङ र घरदैलो कार्यक्रममार्फत सचेतनामूलक गतिविधि सञ्चालन भइरहेको छ। यसैगरी, वीरगञ्ज महानगरपालिका, स्वास्थ्य कार्यालय र विभिन्न निकायको सहकार्यमा २२ टोली जनचेतनामूलक कार्य र ५ समूह तथ्यांक संकलनमा सक्रिय छन्।
स्वास्थ्य कार्यालयले आपूर्ति व्यवस्थापन केन्द्र मधेश प्रदेशमार्फत विभिन्न चरणमा RDT किट र औषधि वितरण गरेको जनाएको छ। थप किट र औषधि आपूर्ति गर्न पहल भइरहेको र पानीको नमुना संकलन गरी सेन्ट्रल ल्याबमा पठाइएको समेत जानकारी दिइएको छ।
कार्यालय प्रमुख विनोद झाले सबै नागरिकलाई सफा पिउने पानी प्रयोग गर्न, पकाएको खाना मात्र खान, व्यक्तिगत तथा घरपरिवारको सरसफाइमा ध्यान दिन र कुनै पनि लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।




_eDRH6Bm5KD.jpg)


Facebook Comments