
काठमाडाैँ । भारतले चीनसँगको सम्बन्धलाई आपसी विश्वास, सम्मान र संवेदनशीलताको आधारमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आइतबार चीनको थियानजिनमा भेटवार्ता गर्दै गत वर्ष भएको सैनिक फिर्ता प्रक्रियापछि सिमानामा शान्ति र स्थिरता कायम भएको उल्लेख गरे । द्विपक्षीय सम्बन्ध पुनःस्थापनाका लागि भइरहेको प्रयासबीच मोदीले राष्ट्रपति सी जिनपिङसँग छुट्टै भेटवार्ता गरेका हुन् ।
‘हाम्रो सम्बन्ध सकारात्मक दिशामा अगाडि बढेको छ । सिमानामा शान्ति र स्थिरता कायम भएको छ । कैलाश–मानसरोवर यात्रा पुनः सुरु भएको छ । दुवै देशबीच प्रत्यक्ष हवाई उडान पनि सुरु हुँदैछ’, मोदीले भने । दुई देशको सीमाका विषमा प्रधानमन्त्री मोदीले भने, ‘सिमाना व्यवस्थापनबारे हाम्रो विशेष प्रतिनिधिहरूबीच सहमति भएको छ । भारत र चीनसँग सिमाना सम्बन्धी विषयलाई सम्बोधन गर्नका लागि एक ढाँचा पनि रहेको छ ।’
तर उनले नेपालसँग विवाद रहेको लिपुलेकको विषयमा केही बोलेनन् । प्रतिनिधिमण्डलस्तरीय वार्ताको प्रारम्भिक सम्बोधनमा चिनियाँ राष्ट्रपति जिनपिङले विश्व रूपान्तरणतर्फ अघि बढिरहेको उल्लेख गर्दै चीन र भारत दुई सभ्यतागत मुलुक भएको बताए ।
‘हामी विश्वकै दुई सबैभन्दा बढी जनसंख्या भएका राष्ट्र हौं र ग्लोबल साउथको हिस्सा पनि हौं । मित्र बन्नु, राम्रो छिमेकी बन्नु, र हात्ती तथा ड्रागन एकसाथ आउनु अत्यन्त जरुरी छ’, चिनियाँ राष्ट्रपति सीले भने । यस वर्ष चीनले अध्यक्षता गरिरहेको १० सदस्यीय सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी चीन पुगेका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्व नेताहरू उत्तरी चीनको थियानजिनमा भदौ १५ देखि १६ गतेसम्म हुने शिखर सम्मेलनमा लागि उपस्थित भएका छन् ।यसअघि दुवै नेताहरू अन्तिमपटक सन् २०२४ मा रसियाको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा भेटेका थिए । चीनमा भएको यस पटकको मोदीको भ्रमण सात वर्षयताकै पहिलो हो ।
मोदी–सीको भेटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकासँग चीनको बढ्दो तनावको सन्दर्भमा पनि महत्वपूर्ण मानिएको छ । यसबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि शिखर सम्मेलनका लागि थियानजिन पुगेका छन् । प्रधानमन्त्री मोदीले शिखर सम्मेलनपछि सोमबार पुटिनसँग भेटवार्ता गर्ने तय भएको छ ।







Facebook Comments