
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (एमाले)को बहिष्कारका बाबजदु बजेट पारित भएको घोषणा गरेका छन् ।
आज एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेपछि मेयर, उपमेयर र वडाध्यक्षसहित ११ जनाको उपस्थितिमा हर्कले बजेट पारित भएको घोषणा गरेका हुन् । तर, महानगरका प्रवक्ता मनोज भट्टराईले बजेटबारे अझै छलफल भइरहेको बताए । “आजको बैठकको विषयमा छलफल भइरहेको छ । अब के गर्ने भन्ने पछि खुल्छ,” उनले भने । अब अर्को कार्यपालिका र नगरसभामा पुनः पेस गर्नुपर्ने हुन सक्ने उनले बताए ।
बैठकमा एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान १० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर पेस गर्नुपर्ने मागसहित पाँचबुँदे पत्र बुझाएका थिए । तर, उनीहरूको माग मेयरले बेवास्ता गरिदिएका हुन् । धरान उपमहानगरमा २० वडा छन् । जसमध्ये एमालेले १०, कांग्रेसले सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई र नेकपा (माओवादी केन्द्र)ले उपमेयर र एउटा वडा जितेको थियो ।







Facebook Comments