
काठमाडौं : यस वर्षको दशैँ नजिकिँदै छ। असोज १३ गते फुलपाती र १६ गते विजयदशमी टीका परेको छ। वर्षेनी यही दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने गरेको छ।
यस वर्षको दशैँका लागि पनि काठमाडौं उपत्यकामा रहेका नागरिकहरू गाउँघर सहजै जान सहज होस भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्दैछ।
त्यसो त दशैँ नजिकिदै गर्दा यस वर्षको दशैँको लागि कहिलेबाट अग्रिम टिकट खुल्छ भनेर चासो बढ्दै गएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यातायात व्यवसायीहरूबाट कहिलेबाट खुलाउने भनेर प्रस्ताव मन्त्रालयमा पेस गर्नेछ।
त्यही प्रस्तावका आधारमा छलफल गरिने मन्त्रालयका सूचना अधिकारी मोहन निरौलाले जानकारी दिए। उनले भने,‘हाललाई यस विषयमा केही छलफल भएको छैन,अब यातायात व्यवसायी महासंघले यो मितिबाट खुलाउँछाैँ भनेर प्रस्ताव ल्याउँछ त्यही प्रस्तावमाथि मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने छौँ।’
कहिलेबाट अग्रिम टिकट खुलाउनेगरि मन्त्रालयमा प्रस्ताव लगिदैँछ भन्ने प्रश्नमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेसम्म केही निर्णय नभएको जानकारी दिए।
वर्षातका कारण कहिलेबाट खुलाउने भन्ने अन्योल रहेको उनले जानकारी दिए। उनले भने,‘मुख्य त वर्षातले अन्योल बनाएको छ,कहिलेसम्म वर्षात सिजन हुन्छ भन्ने छ,अब वर्षात लम्बियो भने बाटोघाटो बिग्रिन्छ,त्यही भएर अगाडि नै अग्रिम टिकट खुलाउँदा बाटो बिग्रियो भने समस्या,त्यही भएर अब केही समयपछि यस विषयमा हामी छलफल गर्छौ।’
जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले यो वर्षको मनसुन जुन १ (जेठ १८) देखि (सेप्टेम्बर ३०) असोज १४) सम्म हुने आँकलन गरेको छ। यसवर्ष बाढी पहिरोलगायतका विपद्बाट २० लाख मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले जसरी भएपनि यात्रुहरूलाई आफ्नो गन्तव्यसम्म पुर्याउने प्रतिबद्धता जनाए। ‘बाटो बिग्रिए पनि विकल्प खोजेर यात्रुलाई गन्तव्यमा त पुर्याइहाल्छौँ,पहिलादेखि नै हामीले उहाँहरूलाई पुर्याँउदै आएका छौँ,’उनले भने। उनले यो बेला सरकारले जहाँ बाटो बिग्रिएका छन् मर्मत गरिहाल्नुपर्ने माग गरे। उनका अनुसार अग्रिम टिकट बुकिङ खुला भएपछि अनलाइनबाट नै टिकट काट्ने व्यवस्था गरिने छ। आवश्यक यात्रुबाहक बसको व्यवस्था गरिने छ।
सरकारले यो वर्ष चाडपर्वको समयमा पनि सवारी साधनको रूट इजाजत खुला गर्ने छ। हरेक वर्षको दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रूट इजाजत खुला गरिने गरिएको छ।
सरकारले गत वर्ष असोज १२ गतेदेखि दशैं लक्षित अग्रिम टिकट बुकिङ खुला गरेको थियो। हरेक वर्ष दशैँ मनाउन काठमाडौं उपत्यकाबाट करिब २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्।







Facebook Comments