काठमाडौं । शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार साँझ द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा सोमबार साँझ ६: ४५ देखि ७:१५ सम्मका लागि भेटको समय तय भएको छ । सोमबार नै ओलीले सम्मेलनमा सम्बोधन गर्नेछन् । सम्बोधन पछि उनले रुसका राष्ट्रपतिलाई भेट्नेछन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको समय भने अझै टुंगो छैन । ओलीले मोदीसँग पनि भेट्ने तयारी गरेका छन् ।

ओलीका अरु भेटघाटको करिब सेड्युल आइसकेको छ । सेड्युल अनुसार नै उनले शनिबारदेखि नै भेटघाट गरिरहेका छन् । मोदीको भने सेड्युलमा आइपुगेको छैन ।

प्रधानमन्त्री केपी ओलीले शनिबार चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीयय भेट गरेका थिए । उक्त भेटमा नेपालको लिपुलेकको भूमिबाट भारत र चीनले व्यापार गर्ने सहमतिप्रति आपत्ति जनाएका थिए ।

यो सहमतिबारे ओलीले मोदीसँग पनि साइडलाइनमा भेटेर कुराकानी गर्ने तयारी गरेका छन् । यसै महिनाको अन्त्यमा औपचारिक भ्रमणमा ओली भारत जाँदैछन् ।

त्यो भ्रमण अघि नै एससिओको सम्मेलनमा पनि मोदीसँग उनले भेट्ने कोसिस गरेका हुन् । ओलीले सोमबार बिहान क्याम्बोडियाका राष्ट्रपति हुन मानेटसँग भेट गर्नेछन् ।

प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री मिन चिङसँग भेट गरिसकेका छन् । आजै उनको मालदिभ्सका राष्ट्रपति मोहम्मद मइजुसँग भेट गरेपछि राष्ट्रपति सी चिनफिङले दिने गाला डिनरमा सहभागी हुने कार्यक्रम छ ।