काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आज राष्ट्रियसभामा पेस गर्ने तयारी छ । आज अपराह्न सवा तीन बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले निजामती विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

विधेयकमा मिल्न बाँकी विषय आजै टुंग्याउने र राष्ट्रिय सभामा पेस गर्ने तयारी गरिएको हो । विधेयकमा कर्मचारीको अवकाशको उमेर हद लागु गर्ने विषयबाहेक अन्य अधिकांश विषयमा सहमति जुटिसकेको छ ।

आइतबारको बैठकमा चालु आर्थिक वर्षमा ५९ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समितिका सदस्यलाई आग्रह गरेकी थिइन् ।

तर, विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको प्रतिनिधित्व गर्ने समितिका सदस्यले प्रतिनिधि सभाको संशोधनमै सहमति गरेर जानुपर्ने अडान राखेपछि समितिको बैठक सोमबार बिहान बस्ने गरी स्थगित भएको गरिएको थियो ।

प्रतिनिधि सभाबाट पास भएको विधेयकको प्रतिवेदनमा कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष उल्लेख छ । प्रतिनिधि सभाले प्रतिनिधिसभाले विधेयक ऐनमा रुपान्तरित भएर लागू भएको वर्ष ५८ वर्ष नै कायम रहने, अर्को वर्ष ५९ र त्यसपछिको वर्षमा ६० वर्ष लागू हुने गरी विधेयक पास गरेर राष्ट्रियसभामा पठाएको थियो ।

तर विधायन व्यवस्थापन समितिमा आइतबारको छलफलमा सामान्य प्रशासनमन्त्री न्यौपाने तथा मन्त्रालयका सचिव रविलाल पन्थले यही व्यवस्थालाई स्वीकार गरिए अबको तीन वर्षसम्म कर्मचारी भर्ना गर्न समस्या हुने तर्क गरेका थिए । आइतबार यही विषयमा दुई घण्टासम्म छलफल भए पनि सहमति जुटेको थिएन ।

त्यसैले नमिलेको विषयमा आज सोमबार बिहान ११:३० बजे पुन: बैठक बसेर सहमति जुटाउने र सकेसम्म आजै पास गरेर राष्ट्रिय सभामा पठाउने तयारी गरिएको हो ।