हेटौँडा । हेटौँडा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार डा. सापकोटालाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएको बताए । उनले डा. सापकोटाजस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने बताए ।

वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौँडा अस्पतालका निर्देशकको रूपमा कार्यरत रहेका थिए । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट स्नातक तह एमबीबीएस र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जबाट स्नातकोत्तर अध्ययन पूरा गरेका डा. सापकोटा दशौं तहका चिकित्सकका रूपमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका छन् ।

नियुक्ति पश्चात डा. सापकोटाले अस्पतालको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहने बताए । सबैको विश्वास जित्ने गरी काम गर्नु नै मेरो पहिलो प्राथमिकता हुने उनको भनाइ छ । नवनियुक्त निर्देशकले उपकुलपति डा. ज्ञवालीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।