काठमाडौँ । रुपन्देही ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका लेखजंग थापाले दुईवटा विवाह गरेको स्वीकार गरेका छन् । उम्मेदवारमा छनोट भए लगत्तै थापामाथि बहुबिवाहको आरोप लागेको थियो ।

आलोचनापछि थापाले मंगलबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै थापाले आफूमाथि प्रश्न गर्नेहरूलाई आफ्नो पारिवारिक जीवन न गैरकानुनी भएको न समस्यापूर्ण नै रहेको बताएका छन् । साथै उनले दुईवटा विवाह गरेको स्वीकार गर्दै एउटा विवाह कानुनी रूपमै सम्बन्ध विच्छेद गरेको प्रमाण समेत सार्वजनिक गरेका छन् ।

‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो’, थापाले भनेका छन्, ‘र त्योभन्दा ठुलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो ।’

उनले साझा अभिभावकत्वको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। ‘एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। सम्बन्धविच्छेद भए पनि बच्चाको भविष्य सुरक्षित बनाउन आमा–बुवाको सौहार्दपूर्ण सम्बन्ध जरुरी हुन्छ,’ उनले लेखेका छन्।

थापाले आफ्नो निजी जीवनमाथि आएका प्रश्नलाई व्यक्तिगत नभई पार्टीमाथि भएको नियोजित आक्रमणका रूपमा व्याख्या गरेका छन्। ‘माथि आक्रमण भएको हो भने त्यो लेखजंग थापामाथि मात्र होइन, सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि हो,’ उनले भनेका छन्।

न्युरोचिकित्सकका रूपमा १४ वर्षको पेशागत यात्रापछि राजनीतिमा प्रवेश गरेका थापाले आफू देशको रूपान्तरणकारी परिवर्तनका लागि लागेको बताएका छन्। ‘म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ,’ उनले भनेका छन्।

उनले आफ्नो निजी जीवनको यो आयामबारे पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको प्रस्ट पारेका छन् ।