काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो । ओली नेतृत्वको सरकारलाई समर्थन जनाउँदै आएका जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको एक महिनासम्म पनि संविधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अधिवक्ता विरेन्द्र केसीले सरकारको वैधतामा प्रश्न उठाएर रिट दायर गरेका हुन् ।

भदौ ५ गते दर्ता भएको उक्त रिट निवेदनमाथि भदौ ६ गते न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएको थियो । यस्तै, भदौ ११ गते न्यायाधीशद्वय महेश शर्मा पौडेल  र नृपध्वज निरौलाको संयुक्त इजलासले ‘पक्षबाट कागज पेस गराउने’ आदेश दिएको थियो ।

रिट निवेदक केसीले ओली नेतृत्वको सरकारले संवैधानिक आधार गुमाइसकेको दाबीसहित यसलाई ‘कामचलाउ’ घोषणा गरी नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न परमादेश माग गरेका छन् ।