
काठमाडौं । ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा आपत्ति जनाएका छन्।
‘मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ। थाहा छैन उनी के सोचिरहेका छन्। हामीलाई आशा छ उनी बुझ्नेछन् कि उनी रूसको सट्टा हाम्रो (अमेरिकाको) पक्षमा हुनुपर्छ,’ उनले भने ।
नवारोले सोमबार भारतीय ब्राह्मणहरूले रूसी तेल किनेर नाफाखोरी गरिरहेको आरोप लगाएका थिए । ‘भारतले रूसबाट तेल किनेर उसलाई युक्रेनमाथि आक्रमण गर्न पैसा दिइरहेको छ। यसको सबैभन्दा ठूलो भार भारतीय आमजनताले व्यहोर्नुपरेको छ, न कि रूस वा अमेरिकाले,’ उनले भनेका थिए ।
नवारोले भारतलाई ‘रूसको वाशिङ मेसिन’ को संज्ञा दिंदै भारतले व्यापार घाटा बढाइरहेको मात्र नभएर अमेरिकी हितविपरीत गठबन्धनहरू पनि मजबुत पारिरहेको आरोप लगाएका छन् ।
उनले केही समयअघि ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा रूस–युक्रेन युद्धलाई मोदी वार भनेका थिए। उनका अनुसार, भारतले रूसबाट सस्तो तेल किनेर रिफाइन गरी महँगोमा बेचिरहेको छ, जसले रूसलाई युद्धका लागि पैसा दिन्छ र उसले युक्रेनमाथि आक्रमण गर्छ।
उनले अझै भनेका थिए, ‘यदि भारतले आजै रूसबाट तेल किन्न बन्द गरिदियो भने भोलिदेखि नै अमेरिका भारतमाथि लगाएको २५ प्रतिशत भन्सार शुल्क हटाइदिनेछ।’







Facebook Comments