
काठमाडौं । एक वर्षअघि संसदीय सुनुवाइमा पोर्चुगलका लागि प्रस्तावित नेपाली राजदूत प्रकाशमणि पौडेलले नेपालमै पोर्चुगल भिसा आवेदन केन्द्र (VAC) स्थापना गर्ने महत्त्वपूर्ण प्रतिवद्धता व्यक्त गरेका थिए। तर, उक्त प्रतिवद्धता सार्वजनिक भएको एक वर्ष बितिसक्दा पनि सो केन्द्र सञ्चालनमा आउन सकेको छैन, जसले गर्दा नेपाली समुदायमा निराशा छाएको छ।
हालसम्म पनि नेपालबाट पोर्चुगलको भिसा प्रक्रिया नयाँ दिल्लीस्थित पोर्चुगल दूतावास वा VFS Global India मार्फत हुँदै आएको छ। यद्यपि, VFS ले काठमाडौं-दिल्ली कुरियर सेवा उपलब्ध गराएको भए तापनि, नेपालमै VAC स्थापना गर्ने कुनै औपचारिक योजना, सम्झौता वा समयरेखा सार्वजनिक भएको छैन।
पोर्चुगलमा रहेका नेपाली समुदायका अभियन्ताहरूले यस विषयमा निरन्तर ध्यानाकर्षण गराउँदै आएका छन्। अभियन्ता गंगा बहादुर नेम्कुललगायतले लिस्बनस्थित नेपाली दूतावासमा राजदूत पौडेल र प्रथम सचिव राम बाबु नेपाललाई भेटी भिसा सुविधा नेपालमै उपलब्ध गराउनुपर्ने मागलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। उनीहरूका अनुसार, यो नेपालीहरूको लामो समयदेखिको प्रमुख अपेक्षा हो।
विशेषज्ञहरूका अनुसार, नेपालमै VAC सञ्चालनमा ल्याउनका लागि पोर्चुगलको दूतावास र सेवा प्रदायकबीच छुट्टै सम्झौता हुनुपर्छ। यसका अतिरिक्त, नेपाल सरकारको आवश्यक अनुमति, पूर्वाधार विकास र कर्मचारी व्यवस्थापनलगायतका प्राविधिक चरणहरू पूरा गर्नुपर्ने हुन्छ। यी प्रक्रियागत ढिलाइका कारण नै राजदूत पौडेलको प्रतिवद्धता अझै कार्यान्वयन हुन नसकेको देखिन्छ। यस विषयमा थप जानकारी वा प्रगति हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ।







Facebook Comments