काठमाण्डाैँ । पछिल्लो तीन दिनयता सुनसरीको झुम्का कारागारमा दुई जना कैदी बन्दीको मृत्यु भएको छ ।

अचानक बिरामी भएर अस्पताल भर्ना गरेका सुनसरी गढी गाउँपालिका वडा नं. ६ का ५२ वर्षे रामदेव उराँव र धरान वडा नं. १० का २४ वर्षे सागर राईको मृत्यु भएको झुम्का कारागार जेल प्रशासनले जनाएको  छ । दुवै जनामा श्वासप्रश्वासमा समस्या देखिएर नियमित चेकजाँचमा खटिने स्वास्थ्यकर्मीले अक्सिजन लेभल जाँच गर्दा कमी देखिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको निम्ति जेलर राम निरौलाले बताए । ‘पहिला कुनै समस्या थिएन, अचानक बिरामी भएर चेकजाँच गर्दा दुवैमा अक्सिजन लेभल घटेको थियो, अक्सिजन लगाएरै अस्पताल लग्यौँ,’ उनले भने, ‘उपचारकै क्रममा मृत्यु हुन पुग्यो ।’  

उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उनलाई अदालतले २५ वर्ष सजाय तोकेकोमा २०७७ सालदेखि कैद सजाय भोगिरहेका थिए । राई लागु औषध मुद्दामा गत वैशाखदेखि पुर्पक्षको लागि कारागारमा कैद भुक्तान गरिरहेको जेलर निरौलाले बताए ।

झुम्का कारागारको  ब्लक ‘ए’ र ‘बि’ गरी १ हजार ७९४ जना कैदी रहेका छन् । यहाँ अहिले सुगर, प्रेसर, मानसिक सन्तुलन गुमाएका, श्वासप्रश्वाससम्बन्धी, छाला, पायल्स, मुटु रोगीलगायतका बिरामी छन् । निम्ति जेलर निरौलाले अहिले दीर्घरोगीको संख्या एक सय ५० हाराहारी रहेको बताए । ‘दीर्घ रोगीलाई जेलभित्रै स्वास्थ्यकर्मीले नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्ने र केही समस्या हुँदा तत्काल ठूलो अस्पताल लाने गरिएको छ,’ उनले भने, ‘यद्यपि, पछिल्लो समय मृत्यु भएका दुवै जना दीर्घ रोगी होइनन् ।’  

ठूलो संख्यामा कैदीबन्दी झुम्का कारागारमै रहेका छन् । अनि, त्यसमा यहाँ पूर्वका अन्यत्र जिल्लाका बिरामीलाई पनि झुम्कामा उपचारकै लागि स्थानान्तरण गर्ने गरिएकाले गर्दा सदावहर बिरामी हुनेको संख्या पनि बढ्दो  छ ।