काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार (भोलि) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा स्थायी कमिटी बैठकमा भएका निर्णयबारे छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यसअघि स्थायी  कमिटी बैठकमा भएको निर्णयबारे छलफल हुनेछ । हामीले भदौ २१ गतेदेखि सुरु गर्ने भनेको मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे पनि छलफल हुनेछ । अन्य समसामयिक राजनीतिक विषय त छँदै छन्,” उनले भने ।

उपमहासचिव जनार्दन शर्माले उठाएको नेतृत्व परिवर्तन र कार्यशैलीबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । पार्टी नेतृत्व र नेतृत्वको कार्यशैलीलगायत विषय पदाधिकारी बैठकबाटै समाधान गर्ने माओवादीको तयारी छ ।

माओवादी केन्द्रका उपमहासचिव शर्माले पनि आफ्ना असन्तुष्ट पदाधिकारी बैठकबाट सम्बोधन हुने अपेक्षा गरेको उनको सचिवालयले जनाएको छ । यसअघि, माओवादीको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।