काठमाडाैँ ।  नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आउन दुई दिन मात्र बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पूरा भएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ । दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । ती मध्ये पार्टी छोडेका, मृत्यु भएका र कारबाहीमा परेका नेताको नाम सूचीबाट हटाइएको छ ।

विधानअनुसार रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन । दशौं महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकालाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उनीहरू आयोजकको हैसियतमा सहभागी हुनेछन् ।

महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २ हजार ३ सय ४९ जना सहभागी हुँदैछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ विधान महाधिवेशनको मूल नारा तय गरिएको छ । महाधिवेशनमा मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिने छ ।

महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेकका अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । 

सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार निर्माण र हसिंया हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने तयारी गरिएको छ । विधान अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

भण्डारी पक्षबाट फरक मतको तयारी

पार्टीको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्थगित गर्ने निर्णय गरेपछि उनी पक्षधर नेताहरूले विधान महाधिवेशनमा फरक मत लैजाने तयारी गरेका छन् ।

भण्डारीको सदस्यता नवीकरण नभएपछि वरिष्ठ उपाध्यक्षसहित दुई उपाध्यक्षद्वयले फरक मत राख्दै आएका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले विधान महाधिवेशनमा आफूहरूको फरक मत कायम रहने बताए ।‘राजनीतिमा सक्रिय हुने विषय नागरिकको मौलिक हक अन्तर्गत रहने तर, पार्टीले नदिएको अवस्थामा सदस्यताको प्रक्रिया अघि बढ्न सक्दैन’, ज्ञवालीले  भने ।

ज्ञवालीले सदस्यता पार्टीले दिएपछि लिने भएको बताउँदै भने, ‘पार्टीले मान्दै मान्दैन, हुँदैन भन्यो भने त्यो सदस्यता हुँदैन । कि त, महाधिवेशनले सदस्यता उचित छ भनेर दिनुपर्छ । नवीकरणलाई मान्यता दिनुपर्छ ।’

ज्ञवालीले विधान महाधिवेशनमा नसुल्झेका विषय ११ औं महाधिवेशनमा उठ्न सक्ने समेत बताए । यसअघि विद्या भण्डारी पक्षले फरक मत लैजाने तयारी गरेपछि भदौ १३ गतेको केन्द्रीय कमिटी बैठक स्थगित गरेको असन्तुष्ट समूहले आरोप लगाउँदै आएको छ ।