
काठमाण्डाैँ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङलाई बोल्दाबोल्दै रोकेर बसाएका छन्। बुधबारको बैठकमा आकस्मिक समयमा बोलिरहेकी सांसद तामाङलाई समय मागेको विषय भन्दा बाहिर गएको भन्दै सभामुख घिमिरेले बोल्न रोक लगाउँदै सिटमा बसालेका हुन्।
आकस्मिक समयमा सभामुख घिमिरेले सांसद तामाङलाई दुई मिनेटको समय दिएका थिए। त्यसपछि उनले बोल्न सुरु गरेकी थिइन्।
‘सरकारले कर्णाली क्षेत्रका सडकमा बजेट साधन स्रोत उपलब्ध गराउँदैन। तर, बजेट विनियोजन गर्दा झापालाई नेपाल देख्छ,’ उनले भनिन्,‘सदनबाट प्रधानमन्त्री(केपी शर्मा ओली)ज्युलाई कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले नेपाल भनेको नेपालसहितको भूगोल हो, कर्णालीको विकास नगरी समृद्ध नेपाल बन्दैन भनेर पटक पटक भनिरहेका छौँ।’
तर प्रधानमन्त्री ओलीले त्यसलाई नजरअन्दाज गरेको उनले आरोप लगाइन्। ‘प्रधानमन्त्री ज्युले अधुरो तथ्यको सहारा लिँदै कार्यकर्ताको मगन्ते कुरा सुन्दै कर्णालीको विकासका बारेमा धारणा बनाएर गलत व्याख्या गर्नुहुन्छ,’ उनले भनिन्। उनले केही दिनअघिको सिस्नु पानी नेपालले आयोजना गरेको ‘जुरुक्क कर्नाली’ कार्यक्रमको प्रसंग कोट्याउन खोज्दा सभामुख घिमिरेले पहिलो चेतावनी दिए।
‘माननीय सदस्य यहाँको आकस्मिक समयलाई ध्यानमा राखेर बोल्नुहोला,’ सभामुख घिमिरेले भने।
त्यसपछि सांसद तामाङले ‘म बोल्दै छु सभामुख महोदय’ भनेर प्रतिक्रिया दिइन्। ‘तपाईँले यहाँ जे विषयमा समय माग गर्नुभएको छ, त्यही विषयमा जान अनुरोध गर्न चाहन्छु’, सभामुख घिमिरेले फेरि ध्यानाकर्षण गराए।
‘म विषयमा आउँदै छु सभामुख महोदय,’ भनेर फेरि सांसद तामाङ पुरानै विषयमा प्रवेश गरिन्। ‘त्यसैले अब संसद्को हरेक बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने व्यवस्था गरियोस्,’ उनले अगाडि भनिन्।
त्यसपछि सभामुख घिमिरेले माइक काटेर ‘माननीय सदस्य तपाईँ बस्नुस्, मलाई लिएको समय विषय मिलेन । त्यस कारण तपाईँ बस्नुस्,’ भनेर थप अगाडि बोल्न दिएनन्।







Facebook Comments