
काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेको फरक मतबारे बिहीबार (भदौ १९) बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताएका छन् ।
बुधबार (भदौ १८) पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरिएको पत्रकार सम्मेलनमा उनले पूर्वराष्ट्रपतिका विषयमा केन्द्रीय कमिटीको निर्णयमा राखेको फरक मतका विषयमा के गर्ने भन्ने विषयमा भोलि छलफल हुने बताएका हुन् ।
“फरक मतका रूपमा दुई उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कनुहुँदैन र उहाँको सदस्यता नवीकरण गर्ने कुरा अस्वीकार गर्नुपर्छ भन्ने विषयमाथि असहमति राख्नुभएको छ । कसलाई सदस्यता दिने कि नदिने भन्ने दस्तावेजको विषय होइन । निर्णयमाथिको फरक मत हो,” उनले भने ।
उनले निर्णयमाथिको फरक मत राष्ट्रिय महाधिवेशनमा राखिने बताए । “निर्णयमाथिको फरक मत विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने विषय सचिवालय बैठकले निर्णय गर्ला । कुनै विन्दुमा राष्ट्रिय महाधिवेशनमा निर्णयका सन्दर्भमा छलफल गर्न पाइन्छ । मतका हिसाबले फरक नभएकाले विधान महाधिवेशनमा छलफल गर्ने कि पछि गर्ने भन्ने सचिवालयमा छलफल गरेर टुंगो लाग्ला । निर्णयमाथिको असहमति हो विचारमाथिको होइन,” उनी भन्छन् ।
कर्ण थापाले राखेको फरक मतका विषयमा के गर्ने भन्ने भोलिको सचिवालय बैठकले निर्णय गर्ने उनले बताए ।







Facebook Comments