
काठमाडौँ । कोसी प्रदेशको थप एक जिल्लामा गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको महामारी फैलिएको छ ।
कोसी प्रदेशको ओखलढुंगा जिल्लामा पनि सातवटा गाइगोरुमा लम्पीस्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो । पछिल्लो तथ्यांकअनुसार कोसी प्रदेशमा २८ हजार २५९ वटा गाइगोरु र राँगा भैँसीमा लम्पीस्किन रोग पाइएकोमा ९८९ वटा पशुचौपाया मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
लम्पीस्किन रोगविरुद्धको खोप लगाएका पशुचौपायाहरूमा यो रोगको प्रभाव कम देखिएको र मुख्य रूपमा लम्पीस्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरू बढी मरेको पशु चिकित्सकहरूले बताएका छन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पीस्किन रोगविरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्रमार्फत पालिकाहरूलाई वितरण गरेको छ ।
कोसी प्रदेशमा तीन लाख ७२ हजार ८०४ वटा पशुचौपायालाई खोप लगाइएकोमा २५ हजार ४२४ वटा पशुचौपायाहरू निको भएको र एक हजार ८४६ वटा पशुचौपायाहरू संक्रमित रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले जानकारी दिए ।
कोसी प्रदेशमा १३ लाख २४ हजार ४२६ वटा गाइगोरु र तीन लाख ७४ हजार ५६७ वटा राँगाभैँसी रहेको तथ्यांक छ । सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, इलाम, सुनसरी र उदयपुरमा लम्पीस्किन रोगको संक्रमण देखिएको छ ।
लम्पीस्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरू सरसफाइ गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकहरूलाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ ।




_eDRH6Bm5KD.jpg)


Facebook Comments