
अछाम । अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
१७ गतेदेखि सम्पर्कविहीन रहेका दुवै जनाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘सानो बुवा र ठूलो बुवाका छोराछोरी रहेका दिदीबहिनी एउटै रुखमा भेटिएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनाबारे बिहान ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यहाँको प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेको छ, जिल्लाबाट अर्को टोली पनि पुग्दैछ,’ डीएसपी खनालले भने , घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गर्नेछ ।’
घटनास्थल घरबाट करिब ४ सय मिटर टाढा रहेको छ । १३ र १४ वर्षका दुई किशोरीको शव प्रहरीले रुखबाट निकालेको छ । उनीहरू दुवै जना वडा नं. ६ कै निवासी हुन् । १७ गते साँझदेखि सम्पर्कविहीन रहेको जानकारी वडा अध्यक्ष टिकाराम जैशीले दिए । एउटै रुखको एउटै हाँगामा भेटिएको शवबारे गम्भीर अनुसन्धान हुनुपर्ने उनले बताए ।







Facebook Comments